२०८२ बैशाख ३० गते मङ्गलवार

अधिकांश व्यवसाय स्थानीय तहमा दर्ता बिनै संचालन


दाङ, १७ बैशाख । तुलसीपुरमा पेय पदार्थ तथा फलफुलका अधिकांश व्यवसाय स्थानीय तहमा दर्ता बिनै संचालन हुने गरेको भेटिएको छ । मंगलबार गरिएको अनुगमनको क्रममा अधिकांश व्यवसाय तुलसीपुर उपमहानगरपालिकामा दर्ता नभएर संचालन गरेको भेटिएको हो ।

करिब १ दर्जन पसलमा गरिएको अनुगमनको क्रममा अधिकांश व्यवसाय तुलसीपुर उपमहानगरपालिकामा दर्ता नगरी संचालन गरिएको फेला परेको हो ।

बिरेन्द्र चोक नजिकैको मलखान बर्मा फलफुल पसल, भण्डारी मदिरा पसल, जय लक्ष्मी कन्सर्न, पिके इन्टरप्राइजेज लगायतका व्यवसाय स्थानीय तहमा दर्ता नगरी संचालन गरेको भेटिएको हो ।

अनुगमनको क्रममा दर्ता नगरी व्यवसाय संचालन गरेको फेला परेपछि व्यवसायीलाई एक हप्ताभित्र दर्ता प्रक्रियामा आउन निर्देशन दिएको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले बताउनुभयो ।

उहाँले कुनै पनि व्यवसाय स्थानीय तहमा दर्ता नगरी संचालन गर्न नपाइने बताउनुभयो । अनुगमनको क्रममा मलखान बर्मा फलफुल पसलबाट आधा लिटरको ८ वटा स्प्राइट म्याद गुज्रिएको फेला परेपछि नष्ट गरिएको छ ।

यस्तै पौडेल फलफूल तथा किराना पसलमा म्याद गुज्रिएको आधा लिटरको सात वटा फेन्टा फेला परेपछि नस्ट गरिएको छ । यस्तै जय लक्ष्मी कन्सर्नलाई म्याद गएका सामान छुट्टै गोदाममा राख्न निर्देशन दिइएको छ भने मूल्य नलेखिएको अक्वा डायमण्डको चार जारको पानी नष्ट गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर, ईलाका प्रहरी कार्यालय तुलसीपुर लगायतको सहभागीतामा बजारका पेयपदार्थ तथा फलफूल , जुस पसलमा अनुगमन गरिएको हो ।

प्रकाशित मिति : २०८२ बैशाख १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस