
दाङ, १५ बैशाख । दाङमा बसको ठक्करबाट स्कुटी चालकको मृत्यु भएपछि फरार रहेका सहचालक नौ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले तुलसीपुर–१५ मलवारका ३६ वर्षिय कृष्णबहादुर चौधरीलाई पक्राउ गरेको हो ।
२०७२ साल मंसिर १७ गते दिउँसो सहचालक चौधरीले चलाएको ना ५ ख ७३१९ नम्बरको बसले रा ३ प २७२३ नम्बरको स्कुटीलाई तुलसीपुर–६ गुम्राहचोकस्थित ठक्कर दिँदा स्कुटी चालक दिवाकर वलीको मृत्यु भएको थियो ।
रुकुमको साविक खारा गाविस वडा नं. २ निवासी वली दुर्घटनाको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बसोबास गर्दै आएका थिए ।
दुर्घटनापछि फरार रहेका चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । चौधरीलाई अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य अघि बढाइएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८२ बैशाख १५ गते सोमवार