२०८२ जेष्ठ ५ गते सोमवार

होटल व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रने चेतावनी


दाङ, ६ बैशाख । होटल व्यवसाय राती १० बजेसम्म चलाउन नपाएको भन्दै होटल व्यवसायीले गुनासो गरेका छन् । स्थानीय प्रशासनले राती १० बजेसम्म व्यवसाय चलाउन पाउने अनुमति दिएपनि प्रहरीले राती ९ बजे नै बन्द गराउने गरेको भन्दै व्यवसायीले गुनासो गरेका छन् ।

व्यवसायीले राती १० बजेसम्म व्यवसाय चलाउन नपाएमा व्यवसाय नै बन्द गरेर आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । तुलसीपुर होटल व्यवसायी समितिका अध्यक्ष इन्द्र बहादुर बस्नेतले प्रहरी प्रशासनको ज्यादती नरोकिए बेलुका ५ बजे नै व्यवसाय बन्द गरेर सम्पूर्ण होटल व्यवसायी आन्दोलनमा उत्रने बताउनुभयो ।

शनिबार नयाँ वर्ष २०८२ सालको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रममा अध्यक्ष बस्नेतले आन्दोलनमा उत्रनुपरेमा तयार रहन सम्पूर्ण होटल व्यवसायीलाई आग्रह गर्नुभयो ।

‘होटल व्यवसाय निर्वाधरुपमा चलाउन पाउनुपर्छ ।’ उहाँले भन्नुभयो–‘प्रहरीको ज्यादती थेक्न नसक्ने अवस्थामा पुगेका छौँ, अझै पनि यस्तै कार्य दोहोरिएमा हामी बेलुका ५ बजे नै होटल बन्द गरी आन्दोलनमा उत्रनेछौँ ।’

होटल व्यवसायी महासंघ केन्द्रिय सदस्य तथा समितिका सल्लाहकार नेत्रलाल वलीले व्यावसायीक एकताका लागि सम्पूर्ण होटल व्यवसायीलाई साथ दिन आग्रह गर्नुभयो । उहाँले व्यवसायीले व्यवसाय सहजरुपमा चलाउन पाउनुपर्ने भन्दै व्यवसाय संचालनमा असहजता भए सम्पूर्ण व्यवसायी एक भएर आन्दोलनमा उत्रने बताउनुभयो ।

समितका अध्यक्ष बस्नेतको अध्यक्षता तथा केन्द्रिय सदस्य वलीको प्रमुख आतिथ्यतामा कायृक्रम भएको हो । कोषाध्यक्ष शुसील वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव दिल बहादुर भण्डारीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८२ बैशाख ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस