
दाङ, ६ बैशाख । गएरातीदेखि फेरि दाङ उपत्यकासहित विभिन्न ठाउँमा वर्षा शुरु भएको छ । अहिले पनि डम्म बादल लागेको छ । फाटफुट पानी पनि परिरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पानी पार्ने प्रणाली पश्चिम नेपालका भूभागबाट पूर्वतिर सरिरहेको छ भने यो प्रणालीको प्रभावले कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीसम्म पानी पार्ने सम्भावना छ ।
पछिल्लो एक घण्टायता दाङ देउखुरीको लालमटियामा सबैभन्दा धेरै पानी परेको छ । विभागका अनुसार लालमटियामा एक घण्टाको अवधिमा ४६ मिलिमिटर वर्षा मापन भएको छ ।
यसैगरी लमहीमा ३५.६ र बगासोतीमा २५.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ । हाँसीपुरमा १७.६ मिलिमिटर र कोइलाबासमा १३.८ मिलिमिटर पानी परेको छ ।
यसैगरी दाङको तुलसीपुर, सदरमुकाम घोराही, रोल्पाको लिवाङ र प्युठानको स्वर्गद्वारीमा पनि पानी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ ।
त्यसको प्रभावले मेघगर्जन/चट्याङसहित पानी पार्ने प्रणाली विकसित भएको छ । यो प्रणाली पश्चिमबाट पूर्वतिर सरिरहेको छ ।