२०८२ असार ३ गते बुधवार

कपुरकोटमा विरुवा संरक्षण सचेतनासहित ब्याडमिन्टन प्रतियोगिता

सल्यान, २५ चैत । वनस्पति अनुसन्धान केन्द्र सल्यानले आफ्नो ६५ औं वार्षिकोत्सव तथा २६ औं वनस्पति दिवसको अवसर पारेर दुर्लभ वनस्पति काकडसिङ्गी को संरक्षणप्रति जनचेतना फैलाउने उद्देश्यले कपुरकोट गाउँपालिकामा पालिका स्तरीय “काकडसिङ्गी कप खुला ब्याडमिन्टन प्रतियोगिता“ सुरु गरेको छ ।

चैत्र २५ गते प्रतियोगिताको उद्घाटन कपुरकोट गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि दुर्गा बहादुर पुनले गरेका हुन्। प्रतियोगितामा १४ टिम सहभागी छन् र खेलहरू चैत्र २८ गतेसम्म सञ्चालन हुने छन्।

प्रतियोगिताका विजेताहरूलाई क्रमशः प्रथमलाई १० हजार, द्वितीयलाई ८ हजार र तृतीयलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएका छन्।

उद्घाटन समारोहमा काकडसिङ्गीको महत्व, औषधीय उपयोग र संरक्षण आवश्यकताका विषयमा छलफल पनि गरिएको थियो।

वनस्पति अनुसन्धान केन्द्रका प्रमुख डा. मित्र पाठकका अनुसार, काकडसिङ्गी सल्यान र कर्णालीका केही जिल्लामा मात्र पाइने एक बहुपयोगी रुख हो, जसमा राइबोफ्लोबिन, एस्कॉर्बिक एसिड, कैरोटिन, निकोटिन एसिड, ग्लूटामाइन, ल्यूटियोलिन, पीपेकोलिक, मोमोरडिन लगायतका महत्वपूर्ण तत्वहरू पाइन्छन्।

यसले जाडोमा हुने रुघाखोकी, ज्वरो, श्वासप्रश्वाससम्बन्धी समस्या, दम, रक्तपित्त, रक्तदोष, रक्तचाप नियन्त्रण, बाल रोग, यौन दुर्बलता, प्रजनन समस्या जस्ता स्वास्थ्य समस्यामा उपयोगी मानिन्छ। अतीतमा नेपाली र चिनियाँ व्यापारीहरू यसैको खोजीमा गाउँ–गाउँसम्म पुग्ने गरेका थिए।

हाल यसको संख्या घट्दै गएकाले यसलाई संरक्षण गर्न विभागले अभियानकै रूपमा काम थालेको हो।

कार्यक्रम कपुरकोट ब्याडमिन्टन संघका अध्यक्ष प्रेम आचार्यको अध्यक्षता, जिल्ला ब्याडमिन्टन संघका उपाध्यक्ष कमल घर्तीको विशेष आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रम सञ्चालन वनस्पति अनुसन्धान केन्द्रका सहायक दामोदर दहालले गरेका थिए।

कार्यक्रम सफल बनाउन कपुरकोट गाउँपालिका, कपुरकोट ब्याडमिन्टन संघ, होटल सगरमाथा लज एन्ड रेस्टुरेन्ट, बादल प्रिन्ट सेन्टर, उन्नत कृषि केन्द्र कपुरकोट लगायत संस्थाले सहकार्य गरेका थिए।

केन्द्रको मुख्य समारोह भने चैत्र २९ गते हुने जनाइएको छ।

प्रकाशित मिति : २०८१ चैत्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस