२०८२ जेष्ठ ५ गते सोमवार

पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रको चासो


दाङ, २३ चैत । तुलसीपुरको पर्यटन प्रवद्र्धनका लागि निजि क्षेत्रले चासो दिएको छ । पर्यटकिय प्रवद्र्धन गरी आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ तुलसीपुर उद्योग वाणिज्य संघले शनिबार तुलसीपुर–१९ स्थित छिल्लिकोटमा ‘पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रको भूमिका’ विषयक अन्तरक्रिया गरेको छ ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनील केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले विकासका कार्यहरूमा निजी क्षेत्रको लगानी अनिवार्य रहेको बताउनुभयो । उहाँले सरकारले सबै काम आफैँ असम्भव हुने भएकाले विकासको गति तीव्र बनाउन निजी क्षेत्र र सरकारबीच समन्वय आवश्यक रहेको बताउनुभयो ।

छिल्लिकोट क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न स्थानीय सरकार र निजी क्षेत्रको समन्वयमा चैते दशैंको अवसरमा साझा प्रयास भएको उहाँले बताउनुभयो । संवाद र छलफलमार्फत योजनाबद्ध रूपमा अगाडि बढ्दा मात्र दिगो विकास सम्भव हुनेमा प्रमुख खड्काले जोड दिनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख दानबहादुर कार्कीले धार्मिक तथा प्राकृतिक सम्पदालाई जोडेर पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले होमस्टे सञ्चालन गर्दा भारतबाट आयातित वस्तु नभई स्थानीय अर्गानिक तथा परम्परागत परिकारहरूलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

उहाँले स्थानीय कला, संस्कृति, रीतिरिवाज र खेती प्रणालीलाई समेत पर्यटकका लागि आकर्षणको केन्द्र बनाउन सकिने सुझाव दिनुभयो । हावापानी अनुसार चिउरी, ओखर, चेरी, पैँयुँ, टिमुरजस्ता उत्पादनलाई प्राथमिकतामा राखेर व्यवसाय विकास गर्न सकिने उहाँको भनाइ छ ।

त्यसैगरी, आन्तरिक राजस्व कार्यालयका प्रमुख श्रीधर टण्डनले धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रवद्र्धनका लागि पर्यटकीय मार्ग निर्माण गरी संरचनात्मक रूपमा ती स्थलहरूलाई जोड्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्दे, दाङ उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चिरञ्जीवी रिजाल लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

संघका प्रेस सल्लाहकार शरद रेग्मीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण संघका महासचिव केशवराज केसीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ चैत्र २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस