
दाङ, ७ चैत । आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) शुरु भएको छ । दाङमा यो वर्ष ४७ वटा परीक्षा केन्द्रबाट १४ हजार दुई सय ५४ जना विद्यार्थीले एसइईमा सहभागी भएका छन् ।
एसइईका लागि घोराही र तुलसीपुर उपमहानगरपालिकामा १४/१४ वटा, लमही नगरपालिकामा पाँच वटा, राप्ती गाउँपालिकामा तीन वटा, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकामा २/२ र बंगलाचुली गाउँपालिका र राजपुर गाउँपालिकामा १/१ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
जिल्लामा एक सय १२ सामुदायिक र एक सय ४१ संस्थागत विद्यालय गरी दुई सय ५३ वटा विद्यालयबाट १४ हजार दुई सय ५४ जना विद्यार्थीले एसइई दिन लागेका छन् । जसमा प्राविधिक धारतर्फ ११ र एउटा खुल्ला विद्यालय रहेको कार्यालयले जनाएको छ ।
जिल्लामा यो वर्ष एसइई दिनेमा छात्रभन्दा सात सय २२ जना बढी छात्रा छन् । शिक्षा विकास तथा समन्वय इकाइ दाङका अनुसार छ हजार सात सय ६६ छात्र र सात हजार चार सय ८८ जना छात्राले एसइइ दिन थालेका छन् ।
शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत तिलकराम बञ्जाडेका अनुसार गत वर्ष जिल्लामा १२ हजार आठ सय ९८ जना विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए ।
जिल्लामा नियमितर्फ पाँच हजार सात सय ६३ छात्र र छ हजार एक सय ३३ जना छात्रा गरी ११ हजार आठ सय ९६ जना, गे्रट वृद्धितर्फ छात्र एक हजार १९ जना र छात्रा एक हजार तीन सय ७३ जना गरी दुई हजार तीन सय ९२ जना रहेका छन् । जिल्लामा यस वर्ष पाँच जना दृष्टिविहीन विद्यार्थीले एसइई दिन दिने भएका छन् ।
जसमा तुलसीपुरमा रहेको स्रोत कक्षा गुरु जजुर माध्यमिक विद्यालयबाट तीनजना छात्र र एक जना छात्रा गरेर चार जना र आदर्श माध्यमिक विद्यालय लालमटियाबाट एक जना छात्रले एसइई दिन थालेको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयले जनाएको छ ।
यसैगरी घोराही कारागारमा रहेका दुई जना कैदीबन्दी र बाँकेमा रहेको बालसुधार गृहमा रहेका तीन जनाले एसइई परीक्षामा सहभागी हुनका लागि निवेदन दिएको तर कार्यालयबाट सहभागी गराउने वा नगराउने भन्ने अझै निर्णय नभएको शाखा अधिकृत पाण्डेयले बताउनुभयो ।
जिल्लाका १० वटै स्थानीय तहमा विद्यार्थीलाई पायक पर्ने गरी यो पटक परीक्षा केन्द्र निर्धारण गरिएको शाखा अधिकृत बञ्जाडेले बताउनुभयो । आजदेखि १९ गते मङ्गलवारसम्म बिहान ८ बजेबाट ११ बजेसम्म परीक्षाको समय तालिका रहेको छ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुदै छ ।