
सल्यान, १ चैत । खरबारीमा लागेको आगो सल्किएर सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार त्रिवेणी गाउँपालिका–३ तिमिलेचौरका ६५ वर्षीय प्रेम बहादुर बस्नेतको मृत्यु भएको हो ।
शुक्रबार दिउँसो करिब ३ बजेतिर श्रीमान श्रीमती घाँस काटन गएको बेला खरवारीमा अचानक आगलागी भएको थियो । आगो नियन्त्रण गर्ने क्रममा प्रेम आफैं आगलागीमा परेको प्रहरीले जनाएको छ ।
आगलागीबाट बस्नेतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी तथा प्रहरी निरिक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । वडा अध्यक्ष कर्ण देव डागीका अनुसार श्रीमान श्रीमती सँगै घास काटन गएको र भिरालो खरबारीमा श्रीमान घास काटेर ओर्लन नसकेपछि श्रीमतीले गाउँलेलाई बोलाउनुभएको थियो ।
गाउँलेलाई बोलाएर श्रीमती पुग्दा श्रीमान एक्कासी आगलागीबाट मृत्यु भएको अवस्थामा भेटिनुभएको थियो ।
आगलागी कसरी भयो भन्ने बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।