
दाङ, २८ फागुन । दाङमा एक वडाध्यक्षबाट विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट भएको छ । घोराही उपमहानगरपालिका–१४ स्थित माध्यमिक विद्यालय शुभप्रभातका प्रधानाध्यापक रुद्र बुढामाथि वडाअध्यक्ष भानसिंह बुढाले कुटपिट गरेका हुन् ।
विद्यालय व्यवस्थापन समितिको बैठकमा विवाद उत्पन्न भएपछि विद्यालयका प्रधानाध्यकमाथि कुटपिट भएको हो । वडा अध्यक्ष बुढा नेकपा एमालेबाट निर्वाचित हुन् ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि तेस्रो पटक बोलाइएको भेलामा वडाध्यक्ष बुढाले आफ्नै पार्टीका व्यक्ति अध्यक्ष बन्नुपर्ने माग राखेका थिए । तर, अभिभावकहरूको आवश्यक बहुमत उपस्थित नभएपछि वडाध्यक्ष बुढाले आफ्नो पक्षका व्यक्तिहरूबाट फर्जी हस्ताक्षर गराएर बहुमत देखाउने प्रयास गरेका थिए ।
प्रधानाध्यापकले अस्वीकार गरेपछि वडाध्यक्ष बुढाले हातपात गरेका थिए । त्यही क्रममा वडा अध्यक्षसँगै आएका व्यक्तिहरूले प्रधानाध्यापकलाई कुटपिट गरी घाइते बनाएको बताइएको छ ।
घटनापछि स्थानीयबासी र शिक्षकहरू आक्रोशित भएका छन् भने घटनाको थप अनुसन्धान भइरहेको छ ।