२०८२ बैशाख ३० गते मङ्गलवार

वडा नम्बर १ स्पष्टोक्ति : ‘कसैप्रति पुर्वाग्रही छैनौँ, हामी सबैको साझा हौँ ।’

दाङ, २८ फागुन । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ ले वडाअध्यक्ष कपको विवादबारे मिडियामा आएको खबरप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

वडाले बुधबार पत्रकार सम्मेलन गरी वडामा संचालन भएको तेस्रो वडा अध्यक्ष कप तथा खेलकुद प्रतियोगिताको अन्तिम नतिजा टोलका अध्यक्ष र प्रतिनिधिबिच गरेको सहमति बमोजिम नै निकालिएको स्पष्ट पारेको छ ।

पत्रकार सम्मेलनमा वडा अध्यक्ष हुमकान्त सापकोटाले आफुहरु सबैको साझा जनप्रतिनिधि भएको र कसैप्रति पनि पूर्वाग्रह नराखिएको बताउनुभयो ।

खेलकुद प्रतियोगितामा विवाद हुनु आफैमा दुखद कुरा भएको भन्दै उहाँले खेलको अन्तिम नतिजा खेलको नियमानुसार नै निकालिएको बताउनुभयो ।

वडामा २३ गतेदेखि २६ गतेसम्म तेस्रो वडा अध्यक्ष कप तथा खेलकुद प्रतियोगिता भएको हो । सोही प्रतियोगिता अन्तर्गत गत सोमबार २६ गते रामनगर र प्रगतिशिल टोल बिच फाइनल खेल हुँदा विवाद भएको हो ।

विवादपछि प्रगतिशिल टोलले खेल नखेल्ने बताएपछि फुटबल खेलको नियमानुसार रामनगर टोललाई विजेता र प्रगतिशिल टोललाई उपविजेता बनाउन सकिने रेफ्रीको सुझाव थियो ।

तर रामनगरले आफुहरुलाई विजेता बनाउनुपर्ने र प्रगतिशिल टोललाई उपविजेता बनाउन नहुने माग गरेको थियो ।

रामनगरले उपविजेताका लागि मात्रै पुन : खेल खेलाउनुपर्ने माग राखेको थियो । तर रामनगर टोलले राखेको माग खेलको नियमअनुसार थिएन । त्यसपछि रेफ्रिको राय अनुसार फाइनलमा पुगेको रामनगर र तेस्रो भएको न्यूरोड टिम बिच फाइनल खेल हुने घोषणा भएको थियो ।

तर फाइनल खेल घोषणा भए पश्चात फेरि रामनगरले हारेको टिमसंग फाइनल खेल नखेल्ने प्रतिक्रिया जनाएको थियो ।

त्यसपछि मात्रै वडाले बाध्यकारी निर्णय गरेर रामनगर र प्रगतिशिल टोल दुवै टिमलाई बाहिर गरेर तेस्रो र चौथो टिमबिच फाइनल खेल बनाएर अन्तिम नतिजा निकालेको वडाअध्यक्ष सापकोटाले बताउनुभयो ।

उहाँका अनुसार आयोजकको निर्णय नै अन्तिम निर्णय हुने भनेर टोलका अध्यक्ष र प्रतिनिधिसंग सहमति गरिएको थियो ।

वडाले बुधबार एक विज्ञप्तीसमेत निकालेर वडाका लागि सबै टोल बराबर रहेको उल्लेख गर्दै कसैप्रति पनि पूर्वाग्रह राखेर निर्णय नगरिएको जनाएको छ ।

विज्ञप्तीमार्फत वडाले शुरुदेखि नै खेलको अनुशासन भित्र रहेर नै प्रतियोगिता गरिएको जनाएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस