२०८२ असार ३ गते बुधवार

शान्ति समाजद्वारा नागरिक संवाद कार्यक्रम


दाङ, २५ फागुन । मानव अधिकार तथा शान्ति समाज दाङले ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा “नेपाल नागरिकता दोस्रो संशोधन विधेयक–२०८१“ विषयक नागरिक संवाद कार्यक्रम गरेको छ ।

कार्यक्रममा समाजको अवधारणा पत्र केन्द्रीय निवर्तमान सचिव निर्मल नेपालीले प्रस्तुत गर्नुभएको हो । प्रेस स्वतन्त्रता सेनानी टिकाराम खड्काले महिलाहरूको हक–अधिकारलाई सुनिश्चित गर्दै उनीहरूको सामाजिक, राजनीतिक तथा आर्थिक विकासका लागि कानुनी, नीतिगत तथा विकास कार्यक्रमहरू विस्तार गर्न आवश्यक रहेको बताउनुभयो ।

महिला अधिकारकर्मी सुष्मा लामिछानेले दिगो राष्ट्रिय विकासका लागि पुरुषसरह महिलाहरूको अर्थपूर्ण सहभागिता अपरिहार्य रहेको औंल्याउनुभयो । महिला अधिकारकर्मी देवा डाँगीले महिलाहरूले भोग्ने विभेदको अन्त्य गर्दै मानव अधिकारकै रूपमा महिला अधिकार सुनिश्चित गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा ओरेक नेपालकी संयोजक कल्पना चौधरी, लुम्बिनी प्रदेश जेष्ठ नागरिक संयोजक खुमानन्द अधिकारी, उच्च बार तुलसीपुरका उपाध्यक्ष श्रीराम चौधरी, समाजसेवी दुर्गा भुषाल लगायतले महिला अधिकार, समानता र सहभागिताका विषयमा विचार व्यक्त गर्नुभयो ।

पत्रकार निरला अर्यालले कानुनी रूपमा महिलाहरूको अधिकार स्थापित गरिए पनि व्यवहारमा अझै लैंगिक असमानता रहेको र व्यावहारिक चुनौतीहरू कायम रहेको बताउनुभयो ।

माध्यमिक विद्यालय दोघरेकी प्रधानाध्यापक सुनिता यादवले कानुनी जटिलताका कारण आफ्नै छोराछोरीले नागरिकताबाट वञ्चित हुनुपरेको अनुभव सुनाउनुभयो ।

उहाँका श्रीमान् विगत २० वर्षदेखि नेपालमा रहेपनि कानुनी अवरोधका कारण छोराछोरीलाई नागरिकता प्राप्त गर्न समस्या भएको उहाँले बताउनुभयो ।

समाजका पूर्व केन्द्रीय उपसभापति मोहन प्रसाद धितालले नागरिकता विधेयक पारित नहुनुका कारण नागरिकहरूले भोग्नुपरेको सास्तीबारे चर्चा गर्नुभयो ।

केन्द्रीय समावेशी सचिव तुलसीराम सुनारले महिला अधिकारलाई मानव अधिकारकै रूपमा स्थापित गर्न शान्ति समाजले निरन्तर अभियान सञ्चालन गरिरहेको जानकारी गराउनुभयो ।

कार्यक्रम शाखा सभापति कोमल डी.सी.को अध्यक्षता भएको हो । शाखा सह–सचिव मधुसुदन गौतमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण शाखा सचिव माधव बस्नेतले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ फाल्गुन २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस