
दाङ, २४ फागुन । दलित महिला संघ दाङले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शनिबार विभिन्न कार्यक्रम गरेको छ । संघले ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा तुलसीपुर–९ थर्कुडाँडामा कार्यक्रम गरेको हो ।
दलित महिला संघ दाङका अध्यक्ष युवा कराराको अध्यक्षता तथा लुम्बिनी प्रदेश सांसद रेखा शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सांसद शर्माले महिलाहरु नीति निर्माण तहमा पुग्ने हिम्मत गर्नुपर्ने बताउनुभयो ।
उहाँले पुरुष सरह समान कामको समान ज्याला हुन नसकेको भन्दै अब कार्यान्वयनका लागि सबै तह जिम्मेवार हुनुपर्ने बताउनुभयो । बिहान ढोका खोल्नेदेखि साँझ ढोका बन्द गर्नेसम्मका जिम्मेवारी महिलामा सिमित गर्न नहुनेमा उहाँले जोड दिनुभयो ।
दलित महिला संघ दाङका सदस्य जानकी विश्वकर्माको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ का दिल कुमारी परियार र अधिवक्ता श्रीराम चौधरीले राज्यका हरेक निकायमा महिलाहरुको सहभागीता बढ्नुपर्ने बताउनुभयो ।

दलित महिला संघ दाङका अध्यक्ष युवा कराराले अन्तराष्ट्रिय श्रमिक महिला दिवसलाई गाउँ केन्द्रित गर्दा कार्यक्रमको प्रभावकारीता हुने बताउनुभयो । कार्यक्रमको सहजीकरण दलित महिला संघ दाङका सचिव गंगा विश्वकर्माले गर्नुभएको हो । दिवसको अवसरमा घैँठा फोड, रस्सी तान्ने लगायतका प्रतियोगिता गरिएको छ ।