
दाङ,२३ फागुन । श्री गणपति ज्वेलर्सले आफ्नो दशौँ वार्षिकोत्सवको अवसरमा खेलकुद सामग्री वितरण गरेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको ज्ञानज्योति आधारभूत विद्यालयका विद्यार्थीहरूलाई खेलकुद सामग्री वितरण गरेको हो ।
सञ्चालक मनिष शाहले तुलसीपुर नगर जेसिजको सहकार्यमा आयोजित कार्यक्रममा भलिबल, ब्याडमिन्टन, बल, क्रिकेट लगायतका सामग्री प्रदान गर्नुभएको हो ।
तुलसीपुर नगर जेसिजका अध्यक्ष सन्दीप भुसालको अध्यक्षता तथा पूर्व अध्यक्ष दिपेश भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी उक्त सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि दिपेश भण्डारीले शिक्षा मात्र नभई स्वास्थ्य पनि महत्वपूर्ण भएकाले नगर जेसिजले आवश्यकतालाई ध्यानमा राखी आफ्ना कार्यक्रम अगाडि बढाउनुपर्ने बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक मेघराज घिमिरेले यस्तो सहयोग विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा मद्दत पुग्ने भन्दै धन्यवाद व्यक्त गर्नुभयो । संयोजक सन्तोष खड्काले १० औं वर्ष प्रवेशको अवसरमा आयोजना गरिएको यो कार्यक्रम समाजसेवाको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्नुभयो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष अध्यक्ष लक्ष्मी परियारले जेसिजले गरेको सामाजिक कार्य उदाहरणीय र प्रशंसायोग्य रहँदै आएको बताउनुभयो ।
नगर जेसिज अध्यक्ष सन्दीप भुसालले खेलकुद अनुशासनमा बाध्ने तथा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने माध्यम भएकाले प्रदान गरिएको खेल सामग्री महत्वपूर्ण हुने बताउनुभयो । कार्यक्रमको सहजीकरण महासचिव बुद्धि प्रकाश सापकोटाले गर्नुभएको तुलसीपुर नगर जेसिज २०२५ का प्रवक्ता सागर न्यौपानेले जानकारी दिनुभयो ।