
दाङ, १९ फागुन । तुलसीपुर उपमहानगरपालिका–१ भ्युडहर सुनपुरस्थित वीरेन्द्र माध्यमिक विद्यालयको ६४ औँ वार्षिकोत्सवको अवसरमा तीनवटा छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको छ ।
समाजसेवी तथा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तुलसीपुर–५ निवासी बामदेव उपाध्यायले आफ्ना छोरा तथा मञ्जु आचार्यले आफ्ना दिवंगत श्रीमान स्व. प्रदीप कुमार आचार्यको स्मृतिमा ‘प्रदीप कुमार शर्मा’ स्मृति अक्षयकोष स्थापना गर्नुभएको छ ।

दुई लाख रुपैयाँको सो अक्षयकोषको ब्याजबाट कक्षा ९ को वार्षिक परीक्षामा उत्कृष्ट हुने विपन्न तथा जेहेन्दार १/१ जना छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिने विद्यालय प्रधानाध्यापक टोप बहादुर घर्तीले बताउनुभयो ।
उहाँका अनुसार वार्षिकोत्सवको अवसरमा तुलसीपुर उपमहानगरपालिका–६ निवासी समाजसेवी बलदेव शर्माले आफ्ना स्व. पिता तुलसी उपाध्यायको स्मृतिमा ‘तुलसी स्मृति अक्षयकोष’ स्थापना गर्नुभएको छ ।

५५ हजार रुपैयाँको सो अक्षयकोषको ब्याजबाट हरेक वर्ष कक्षा ११ को वार्षिक परीक्षामा उत्कृष्ट हुने विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिइने प्रअ घर्तीले बताउनुभयो ।
यसैगरी, तुलसीपुर उपमहानगरपालिका–१ निवासी समाजसेवी खविलाल भट्टाराई र चन्द्रकली भट्टाराईले आफ्नो जन्मदिनको अवसरमा खबि–चन्द्र अक्षयकोष स्थापना गर्नुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीप्रसाद न्यौपानेले बताउनुभयो ।

५१ हजार १ सय ११ रुपैयाँको सो अक्षयकोषको ब्याजबाट माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट हुने विपन्न तथा जेहेन्दार विद्यार्थीका साथै सोही विद्यालयमा कक्षा ११ मा अध्ययनरत १/१ जना छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिनेछ । अक्षयकोषको संरक्षकमा विद्यालयका शिक्षक बेद प्रकाश भट्टाराई र उहाँका भाइ प्रकाश भट्टाराई रहनु भएको छ ।
विद्यालयका प्रधानाध्यापक घर्तीले यससंगै विद्यालयमा ९ वटा छात्रवृति अक्षयकोष स्थापना भएको बताउनुभयो । उहाँले अक्षयकोष स्थापनाले प्रतिभाशाली विद्यार्थीलाई थप हौसला प्रदान गर्ने बताउनुभयो ।