
दाङ, १७ फागुन । दाङ उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा भइरहेको छ । पश्चिमी न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, कोशी र बागमती प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको छ ।
लामो समयदेखि भइरहेको खडेरीपश्चात पानी परेपछि किसानहरु खुशि भएका छन् । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेका कारण दाङ उपत्यकासहित देशका अधिकांश ठाउँमा मौसम बदली भएको छ ।
दाङमा आज पनि सामान्य वर्षा भइरहेको छ । रुकुम पश्चिममा झन्डै साढे ६ महिनापछि पानी परेकाले हिउँदेबालीका लागि ठूलो राहत हुने मुसीकोट नगरपालिका–१३ का किसान रणविर खड्काले बताउनुभयो ।
रुकुम पश्चिमसँगै लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्वमा पनि झरी परिरहेको छ भने यस भेगको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात समेत भएको छ ।
पुथाउत्तरगंगा गाउापालिका–१ का वडाध्यक्ष विरमान विकका अनुसार यस क्षेत्रका पुथा र चुरेन हिमालसँगै आसपासका डाडाँमा हिउँ परिरहेको छ । सुख्खापन बढेकाले हिमाली जनजीवन पनि कष्टकर बन्दै गइरहेकोमा यो मौसमी प्रतिकूलताले आफूहरूलाई लाभ हुने पुथाउत्तरगंगा–१ मैकोटका भरत कुमार पुनले बताउनुभयो ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले आइतबारदेखि मौसम क्रमिक रूपमा सुधार हुने बताउनुभयो ।