
सल्यान, ११ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयले सल्यानको कपुरकोट गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबर्धनका विषयमा पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, सरकारी कर्मचारी र समाजसेवीहरूबीच विचार विमर्श गरी विभिन्न सुधारका उपायहरूबारे विचारविमर्श गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख राम कृष्ण पुडासैनीले कार्यक्रममा सम्बोधन गर्दै भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रबर्धनमा सबै नागरिकको साझेदारी आवश्यक भएको बताउनुभयो । उहाँले भ्रष्टाचार विरुद्धको संघर्षमा आम जनताको जागरुकता र सरोकारको महत्व र समग्र विकासमा यसको भूमिका बारेमा स्पष्ट पार्नुभयो ।
उहाँले कार्यक्रमको उद्देश्य जनतालाई भ्रष्टाचारको विरुद्धमा सचेत गराउनु र सरकारी सेवा प्राप्तीका विषयमा आवश्यक जानकारी दिनु रहेको बताउनुभयो । कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले पालिकालाई सुशासनमैत्री बनाउने पहल गरिरहेको बताउनुभयो । कार्यक्रममा कपुरकोट गाउँपालिकाका विभिन्न संघ–संस्थाका प्रमुख र प्रतिनिधिहरूको उपस्थितिमा भ्रष्टाचार र सुशासनको महत्व र चुनौतीहरूबारे छलफल गरिएको हो । कार्यक्रमको संचालन बिष्णु न्यौपानेले गर्नुभएको हो ।