
सल्यान, ७ फागुन । सल्यानको आजदेखि कपुरकोटमा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने उद्घोषका साथ कपुरकोट गाउँपालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।
कपुरकोट गाउँपालिका–६ स्थित कालिका माविमा सुरु भएको प्रतियोगिताको उद्घाटन सल्यान जिल्ला समन्वय समितिका संयोजक बेला राम रावतले गर्नुभएको हो ।
कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले खेलकुदको माध्यमबाट विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा योगदान पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा सल्यानका प्रमुख जिल्ला अधिकारी सावित्रा पुन, जिल्लाका सुरक्षा प्रमुख, जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरू सहभागी रहेका छन् । प्रतियोगिता फागुन ९ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।