
दाङ, ४ फागुन । बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा सहलगानी आयोजनाको काम पुरा भएको छ ।

तुलसीपुर–१६, १७ , १८ र १९ मा पानी वितरण गरिरहेको संस्थाले सहलगानी आयोजना अन्तर्गत करिब १६ किलोमिटर टाढा रोल्पाबाट पानी ल्याएर उपभोक्तालाई धारा वितरण गर्न सफल भएको हो । आयोजनाको काम माघ महिनामै पूरा भएको हो ।
सहलगानी आयोजना अन्तर्गत ३२ करोड लगानीमा रोल्पाको रुण्टीगढी गाउँपालिका वडा नम्बर ८ पानी ल्याइएको हो । संस्थाका अध्यक्ष प्रदिप गौतमले मुलबाट प्रशोधन केन्द्रमा प्रति सेकेन्ट २५ लिटर पानी आइरहेको बताउनुभयो ।

सहलगानी आयोजनाको काम पुरा भएसंगै थप करिब ४ हजार धारामा पानी वितरण गर्न सकिने र अहिले १ हजार ७ सय नयाँ धारा वितरण गरिसकेको अध्यक्ष गौतमले बताउनुभयो ।
संस्थाका अध्यक्ष गौतमले आयोजनाको काम पुरा भएसंगै उद्घाटनको तयारी गरिएकोे बताउनुभयो । उहाँले तुलसीपुर–१९ तोप्पापानीमा रहेको पानी प्रशोधन केन्द्रमा सहलगानी आयोजनाको मंगलबार उद्घाटन गरिने बताउनुभयो ।

आयोजनाको मंगलबार (फागुन ६ गते) लुम्बिनी प्रदेशका प्रथम मूख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने उहाँले बताउनुभयो । आइतबार आयोजनाको अनुगमनको समेत गरिएको छ ।
अनुगमनमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष शिवानन्द डाँगी, १७ का अध्यक्ष थलराज पुरी, १८ का अध्यक्ष माधव वली, १९ का अध्यक्ष प्रेमनाथ योगी अनुगमनमा सहभागी रहनुभएको थियो ।