
दाङ, ३ फागुन । तुलसीपुर–१८ मा रहेको जुरपनिया मैनातारा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले शनिबार नवौँ साधारणसभा गरेको छ । संस्थाका अध्यक्ष राम कुमार डाँगीको अध्यक्षता तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा साधारण सभाको उद्घाटन कार्यक्रम गरिएको हो ।
साधारण सभामा खानेपानी डिभिजन कार्यालय दाङका प्रमुख तिलक न्यौपानले आगामी दिनमा पानीको संकट आउन नदिनका लागि मुहान संरक्षणमा गर्नुपर्ने बताउनुभयो । स्रोतको संरक्षण गर्न नगर्ने हो भने पानीको संकट आउने उहाँको भनाई छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष माधव वलीले खानेपानीको दीर्घकालिन समाधानका लागि जलाशय संरक्षणमा स्थानीय सरकारल लागि परेको बताउनुभयो ।

उहाँले पछिल्लो समय जनसंख्या बढ्दै गएको र पानीका स्रोतहरु सुक्दै गएको अवस्थामा जलाशय निर्माणले सहजता भएको बताउनुभयो । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यमकान्त भण्डारीले नागरिकले खानेपानी निशुल्क पाउनुपर्ने बताउनुभयो ।
बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष प्रदिप गौतमले उपभोक्तालाई पानी पुर्याउन निरन्तर लामो समयदेखि लागिरहेको बताउनुभयो । साधारणसभामा संस्थाका सल्लाहकार हिमबहादुर डाँगी, शेर बहादुर खड्का, लोकबहादुर बहकरी, युवराज खड्का बन महासंघका जिल्ला उपाध्यक्ष चन्द्र बहादुर वली, नेपाल रेडक्रस सोसाइटी उपशाखा बिजौरीका सचिव मुकेश वली लगायतले खानेपानीको पहुँच, व्यवस्थापन तथा गुणस्तर सुधारका विषयमा जोड दिनुभयो ।

उपाध्यक्ष शेषमणी कुँवरको स्वागत मन्तव्यबाट शुरु भएको साधारण सभामा सचिव दामोदर बस्नेत ‘राकेश’ले प्रगति विवरण पेश गर्नुभएको थियो भने कोषाध्यक्ष यम केसीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको हो । साधारणसभामा खानेपानीको महशुल नियमित बुझाउने ६ जनालाई सम्मान पनि गरिएको छ । कार्यक्रमको सहजीकरण सचिव दामोदर बस्नेत ‘राकेश’ले गर्नुभएको हो । संस्थाले तुलसीपुर–१८ र १९ मा खानेपानी उपलब्ध गराउँदै आएको छ ।