
दाङ, २५ माघ । घोराही तुलसीपुर चारलेन सडकको लागत अनुमानको फाइल बल्ल तयार भएको छ । मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले स्थलगत अध्ययन अवलोकन गरी लागत अनुमानको फाइल तयार गरेको हो ।
ठेक्का सम्झौता नै हुन नसकेपछि सम्भवत सामाजिक सञ्जालमा आएका सूचना जसरी प्रधानमन्त्री केपी शर्मा ओलीले फागुनको पहिलो साता दाङ भ्रमण गर्दा शिलान्यास हुने सम्भावना देखिएको छैन ।
स्वीकृतिका लागि सडक विभागमा पठाउने तयारी भएको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालय काठमाडौँका इन्जिनियर क्षितिज पोखरेलले बताउनुभयो ।
सडकका विभागले थप अध्ययन गरी अन्तिम स्वीकृति दिएपछि मात्रै मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले सो सडक स्तरोन्नतिका लागि टेन्डर प्रक्रिया अघि बढाउनेछ ।
यसअघि भारतको सशर्त अनुदानको करिब २ करोड २१ लाख अमेरिकी डलरको बजेटमा सडकको स्तरोन्नतीको काम शुरु भएपनि तिन पटक म्याद थप्दा पनि हुन सकेको थिएन ।
अन्तत : नेपाल सरकारले ठेक्का रद्द गरेसँगै नेपाल सरकारकै पैसाले घोराही तुलसीपुर चारलेन सडक स्तरोन्नतिको काम पुनः सुरु हुने प्रक्रियामा गएको हो । मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले घोराहीको डिके पेट्रोलपम्पदेखि तुलसीपुरको हात्तीखौवासम्मको क्षेत्रमा काम अघि बढाएको छ । सडकको दायाँ/बायाँ १५/१५ मिटर चौडाइमा स्तरोन्नती हुने गरी लागत स्टिमेट तयारी भएको छ ।