
दाङ, २२ माघ । दाङको शान्तिनगर गाउँपालिका–४ जुम्लेखोलामा अचेत अवस्थामा फेला परेका एक पुरुषको नेपालगन्जमा उपचार भइरहेको छ ।
सल्यान त्रिवेणी गाउँपालिका फालावाङका ५०/५१ वर्षीय हरि बहादुर भण्डारी (आफुखुसी डुल्ने व्यक्ति) १०/१२ दिनअघि देखि शान्तिनगर–४ का प्रदीप डागीको घरमा बस्दै आएका थिए ।
माघ २१ गते राति करिब ८ बजे घरभन्दा ५०/६० मिटर टाढा चौतारीमा नाकबाट रगत बगेको अवस्थामा अचेत फेला परेको घरधनी तिल्का डागीले फेला पार्नुभएको हो ।
घटनापछि राति साढे ११ बजे उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर लगिएको थियो । त्यसपछि थप उपचार आवश्यक परेपछि उनलाई नेपालगन्जको नर्सिङ होममा रिफर गरिएको छ ।
चिकित्सकका अनुसार उनको टाउकोमा रगत जमेको देखिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।