२०८१ फाल्गुन ७ गते बुधवार

तुलसीपुरमा सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता सुरु : वडा नम्बर ६ को बिजयी शुरुवात


तुलसीपुर, १९ माघ । दाङको तुलसीपुरमा शनिबारदेखि सर्वाधिक पुरस्कार राशिको अध्यक्ष कप अन्तर वडास्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता शुरु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को आयोजना तथा युथ अफ तुलसीपुर र मदन भण्डारी स्पोट्र्स क्लबको सहकार्यमा अरनिको मैदान तुलसीपुरमा संचालित प्रतियोगिताको राष्ट्रिय सभाका पूर्व सदस्य कोमल वलीले खेल उद्घाटन गर्नु भएको हो ।

उहाँले खेलकुद राष्ट्रको सान र पहिचान भएकाले सिङ्गो राष्ट्रको प्रतिनिधित्व गर्ने बताउनुभयो । उहाँले फुलबल सारा नेपालीको गौरव भएकाले यसलाई देशको समृद्धिसंग जोडेर लैजानुपर्ने बताउनुभयो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी, निवर्तमान नगर प्रमुख घनश्याम पाण्डे, अधिकारकर्मी शुष्मा लामिछाने लगायतले खेल क्षेत्रमा आवश्यक लगानी बढाउनुपर्ने बताउनुभयो । प्रतियोगिताको बिजेताले नगद २ लाख ६६ हजार ६ सय ६६ र चाँदीको रनिङ शिल्ड प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले १ लाख ६६ हजार ६ सय ६६ नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

त्यस्तै ब्यक्तिगत बिधातर्फ सर्वोत्कृष्ट हुने खेलाडीले नगद ८ हजार ट्रफी हात पार्नेछन् । त्यस्तै उत्कृष्ट गोल्किपर, सर्वाधिक गोलकर्ता उत्कृष्ट गोल रक्षक, उत्कष्ट मध्यपंक्ति, उत्कृष्ट प्रशिक्षकलाई क्रमश : नगद ५ हजार पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ भने प्रत्येक म्याचको म्यान अफ दि म्याचलाई नगद १ हजार रुपैयाँ प्रदान गरिने वडा अध्यक्ष दुजमान भण्डारीले बताउनुभयो ।

उहाले खेलकूद क्षेत्र राष्ट्रलाई चिनाउने क्षेत्र भएकाले पनि खेलको विकासका लागि यस्तो कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

अरनिको मैदानमा संचालित प्रतियोगिताको वडाले स्कोर बोर्ड समेत राखेको र सो स्कोरबोर्ड मैदानमा सधैका लागि राखिदिने उहाँले बताउनुभयो । प्रतियोगितामा तुलसीपुर नगरका १६ वडाका टिमको सहभागिता रहेको छ ।

यसैबिच आज भएको उद्घाटन खेलमा वडा नम्बर ६ बिजयी भएको छ । वडा नम्बर ४ लाई ५–२ गोलले पराजित गर्दै आयोजक वडा नम्बर ६ ले बिजयी सुरुवात गरेको हो । प्रतियोगिता अन्तरगत भोलि बिहान हुने पहिलो खेलमा वडा नम्बर १४ र वडा न १५ भिड्नेछन् । खेल बिहान साढे आठ बजे देखि सुरु हुनेछ ।

प्रकाशित मिति : २०८१ माघ १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस