
दाङ, १९ माघ । तुलसीपुर उपमहानगरपालिकामा तथ्यांक व्यवस्थापनलाई प्रभावकारी बनाउन एकीकृत डेटा व्यवस्थापन प्रणाली (आइडीएमएस) को अनावरण गरिएको छ । तथ्यांकमा सबै नागरिकको पहुँच सुनिश्चित गर्न तथा पुनः प्रयोग योग्य बनाउने उद्देश्यका साथ शनिबारदेखि यो प्रणाली सुरु गरिएको हो ।
तुलसीपुर उपमहानगरपालिका र हरियाली मञ्च नेपालको आयोजना, द एसिया फाउण्डेशनको सहयोग तथा ओपन नलेज नेपालको प्राविधिक सहकार्यमा यो प्रणाली सार्वजनिक गरिएको हो ।

नगर प्रमुख टिकराम खड्काले आइडिएमएसको प्रयोगले उपमहानगरपालिकाको तथ्यांक व्यवस्थापनलाई सरल, व्यवस्थित र पारदर्शी बनाउने बताउनुभयो । उहाँले उपमहानगरपालिकामा अब सबै सेवा प्रविधिमैत्री बन्ने दावि गर्नुभयो । उहाँले प्रविधिको बारेमा जानेको छैन भन्ने छुट कर्मचारीलाई नभएको पनि बताउनुभयो ।
यस्तै निवर्तमान नगरप्रमुख घनश्याम पाण्डेले विकास निर्माणका लागि आधार नै तथ्यांक भएकाले एकीकृत डेटा व्यवस्थापन प्रणाली प्रभावकारी हुने बताउनुभयो । तथ्यांकको वैज्ञानिक संकलन र व्यवस्थापनले नीति निर्माणदेखि सेवा प्रवाहसम्म प्रभाव पार्ने उहाँको भनाई छ ।
त्यस अवसरमा निमित्त प्रमुख प्रशासकिय अधिकृत धनराज गौतमले प्रणाली लागू भएपछि नगरवासीले आवश्यक सरकारी तथ्यांक डिजिटल रूपमा सहजै प्राप्त गर्न सक्ने बताउनुभयो ।
तथ्यांक अधिकृत बावुराम न्यौपानेले नीति निर्माण र विकास निर्माणका लागि तथ्यांकलाई प्रभावकारी रूपमा उपयोग गर्न सकिने बताउनुभयो । मानवअधिकारकर्मी सुशील बस्नेतले तथ्यांक नै सबैभन्दा ठुलो सम्पति भएकाले यसको अध्यावधिक भइरहनुपर्ने बताउनुभयो ।
पूर्व जनप्रतिनिधि नवराज लामिछानेले तथ्यांक नै विकासको आधार भएकाले अध्यावधिकमा ध्यान दिनुपर्ने बताउनुभयो । ओपन नलेज नेपालका निकेश बलामीले आइडीएमको प्रयोग र अध्यावधिकबारे जानकारी दिनुभएको हो ।
उहाँले प्रणालीमा तथ्यांकमात्र नभएर चित्रहरु मार्फत पनि जानकारी प्रवाह हुने बताउनुभयो । कार्यक्रमको सहजीकरण हरियाली मञ्च नेपालका अध्यक्ष सुरेश रावतले गर्नुभएको हो ।