
दाङ, १४ माघ । तुलसीपुर उपमहानगरपालिकाले १५ जना नगरप्रहरीको भर्ना गरेको छ । नगरभित्रको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने उद्देश्यले नगरप्रहरी भर्ना गरिएको हो ।
उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले भर्ना गरिएका नगरप्रहरीहरूलाई सुरक्षा, शान्ति कायम राख्ने, ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने र स्थानीय प्रशासनका विभिन्न कार्यमा सहजीकरण गर्न खटाइने बताउनुभयो ।
नगरप्रहरी भर्नाका लागि आवेदन खुला गरेपछि धेरै संख्यामा आवेदकहरू सहभागी भएका थिए । छनोट प्रक्रिया पूरा गरी दक्ष र योग्य उम्मेदवारहरूलाई नगरप्रहरीका रूपमा नियुक्त गरिएको उपमहानगरपालिकाले जनाएको छ । नियुक्त गरिएका नगरप्रहरीलाई ४० दिनसम्म आधारभूत तालिम दिएर सोमबार दर्ज्यानी चिन्ह प्रदान गरिएको नगरप्रवक्ता माधव वलीले बताउनुभयो । नगर प्रहरी प्रमुख नायव निरीक्षक ऋषिराज पछाइसहित १५ जना नगर प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।
नगर प्रहरीको सेवा सुविधा पद अनुसार नेपाल प्रहरी समान हुन्छ । नगर प्रहरीलाई ४० दिने प्राथमिक कवाज तालिम इलाका प्रहरी कार्यालय तुलसीपुरका वरिष्ठ प्रहरी नायव निरीक्षक मिलन श्रेष्ठको टोलीले दिएको हो । उपमहानगरपालिकाले आफ्नै नगरी प्रहरी राख्नेबारे निवर्तमान नगरप्रमुख मेयर घनश्याम पाण्डेकै पालमा ऐन तयार भएको थियो । नगरप्रहरीका लागि मासिक ४ लाख खर्च हुन्छ ।