२०८१ चैत्र ८ गते शुक्रवार

तराईका जिल्लामा बाक्लो हुस्सु र शीतलहर

दाङ, १३ माघ । दाङ उपत्यकासहित तराईका जिल्लामा आज बिहानैदेखि बाक्लो हुस्सु लागेकाले जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र शीतलहरका कारण यातायात सञ्चालनमा कठिनाइ भएको छ भने दैनिक कामकाजमा समेत समस्या आएको छ ।

बिहानको समयमा दृश्यता कम भएकाले विद्यालय जाने विद्यार्थी, किसान र मजदुर बढी प्रभावित भएका छन् । मौसमविद्हरूका अनुसार यो अवस्था केही दिनसम्म कायम रहन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।

तराईका जिल्लामा हुस्सु र शीतलहरको प्रभावले विशेष गरी वृद्धवृद्धा र बालबालिकामा स्वास्थ्य समस्या निम्तिन सक्ने भएकाले न्यानो कपडाको प्रयोग र तातो खानेकुरामा ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन् ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।

महाशाखाले केही दिनयता कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा दिनभर हुस्सु र कुहिरो लाग्दा जनजीवन प्रभावित भएको उल्लेख गरेको छ ।

आज दिउसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम मुख्यतया सफा रहने छ ।

कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै तराईका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८१ माघ १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस