
दाङ, २२ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) को ३४ औं स्थापना दिवसको अवसरमा तुलसीपुरस्थित मानव सेवा आश्रममा भोजन कार्यक्रम गरिएको छ ।
स्थापना दिवसलाई स्मरणीय बनाउन प्याव्सन तुलसीपुर नगर समितिले आश्रममा आश्रित व्यक्तिहरूका लागि भोजन कार्यक्रमको आयोजना गरेको हो ।

तुलसीपुर नगर प्याव्सन तुलसीपुरका अध्यक्ष डम्बर डाँगीको अध्यक्षता तथा प्याब्सन लुम्बिनी प्रदेश कार्य समिति सदस्य बासुदेव रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि रिजालले सहाराबिहिन नागरिकको सेवामा मानव सेवा आश्रमले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले आश्रमको महान कार्यलाई थप सहजता बनाउनका लागि प्याब्सनले भोजनको कार्यक्रम गरेको बताउनुभयो ।
यस्तै प्याव्सन दाङका निवर्तमान अध्यक्ष मधुसुदन केसीले बेसहारा नागरिकको सेवामा खटिने सम्पूर्णप्रति धन्यवाद प्रकट गर्नुभयो । प्याव्सन २०४७ सालमा स्थापना भएको हो ।
स्थापना दिवसको अवसरमा पुस २२, २३ र २४ गते विभिन्न कार्यक्रम राखिएको उहाँले बताउनुभयो । कोषाध्यक्ष युवराज डाँगीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव कमल सापकोटाले गर्नुभएको हो । मानव सेवा आश्रम तुलसीपुरका सहसंयोजक शुसिला घर्तीका अनुसार आश्रममा अहिले ५१ जना आश्रित छन् ।
यसैबिच प्याब्सन नगर समिति तुलसीपुरले स्थापना दिवसको अवसरमा आज तुलसीपुरको बिरेन्द्रचोकमा दिप प्रज्वलनसमेत गरेको छ ।
