
रोल्पा, १८ पुस । कम्प्युटर ल्याबको कोठा पुरै भरिने गरी कम्प्युटरहरु छन् । तर विद्यार्थीले नचलाएको पनि धेरै दिन भइसकेको छ ।
कम्प्युटरको मोनिटरमा लागेको धुलोले नै यसको संकेत गर्दछ । तीनै कम्प्युटरमा लागेको धुलो सफा गरेर बन्द रहेका कम्प्युटर सुचारु गर्नका लागि दुई जना युवालाई हम्मे हम्मे पर्यो ।
करिब दुइ दिनको निरन्तर खटाइ पश्चात कम्प्युटर ल्याबमा रहेका कप्प्युटर सफा मात्रै भएनन् बन्द अवस्थामा रहेका कम्प्युटर सञ्चालनमा समेत आए । अनिमात्रै केयौँ दिनपछि विद्यार्थीहरुले कम्प्युटरका किबोर्ड थिच्न थाले ।
थवाङ्ग रोल्पामा रहेको विर बलभद्र माध्यमिक विद्यालयमा विग्रेर थन्किएका कम्प्युटरहरु तुलसीपुर मेट्रो कलेजमा आइटि अध्ययन गर्ने विद्यार्थीहरु आशिष चौधरी र अमित केसीले विद्यालयमै पुगेर मर्मत गरेका हुन् ।
एउटा विद्यालयको आवश्यकतालाई अर्को विद्यालयले पुरा गर्नका लागि सहयोग गर्ने परम्परा बसाल्नका लागि कलेजले यस्तो अभियान सञ्चालन गरेको हो ।
कलेजमा आइटिमा अध्ययनरत विद्यार्थीहरुले विग्रेका कम्प्युटर मर्मत गरेर बन्द अवस्थामा रहेको ल्याब सञ्चालनमा ल्याएका हुन् । विद्यालयको आर्थिक स्रोत सिमित हुने भएकाले कम्प्युटर मर्मतका लागि समस्या उत्पन्न भएको अवस्थामा कलेजले नै व्यवस्थापन गरेर मर्मत गरिदिदा नियमित ल्याब सञ्चालन गर्न सहज भएको विद्यालयका प्रधानाध्यापक कुलबहादुर ओलीले बताउनुभयो ।
‘सामान्यरुपमा बिग्रिएको भएपनि मर्मत गर्ने जनशक्ति नहुँदा समस्या आएको थियो, कलेजले नै जिम्मा लिएर मर्मत गरिदिएपछि विद्यालयले धेरै भार थेग्नु नपर्ने भयो’ प्रधानाध्यापक ओलीले भन्नुभयो ।
मर्मत गर्ने जनशक्तिको अभावमा कम्प्युटरहरु थन्किएको सूचना थाहा पाएपछि कलेजमै अध्ययनरत विद्यार्थीहरुसँग सहयोग लिएर मर्मत गरिएको कलेज प्रमुख वसन्त आचार्यले बताउनुभयो ।
उहाँले आइटीको प्रिडिप्लोमा तह अध्ययनरत विद्यार्थीहरुले कम्प्युटर मर्मत गरिदिएको पनि बताउनुभयो । ‘हामीले जनशक्तिको सहयोगका साथै आवश्यकता अनुसार उपकरण पनि सहयोग गर्नेछौ’ कलेज प्रमुख आचार्यले भन्नुभयो ।
विद्यालयमा कम्प्युटर सामान्यरुपमा मात्रै विग्रिएको हुँदा अधिकांश कम्प्युटर मर्मत गरेपछि सञ्चालनमा आएको पनि विद्यालयका प्रधानाध्यापक ओलीले बताउनुभयो । विद्यालयको केही डेस्क बेन्च पनि भाचिएकाले मेकानिकल अध्ययन गर्ने विद्यार्थीहरुलाई परिचालन गरेर मर्मत गरिने कलेज प्रमुख आचार्यले बताउनुभयो ।