
दाङ, ७ पुस । दाङ तुलसीपुरका महिलाहरु हस्तकलाका सामग्रिबाट उद्यममा जोडिन थालेका छन् । महिलाहरुले स्थानीयस्तरमा पाइने कच्चा पदार्थको प्रयोग गरी झोला, कमलदानी, फूलदानी लगायतका सामग्रि बनाउन थालेका हुन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. २ को सहकार्यमा ग्रिन फाउण्डेशन नेपालले महिलाहरुलाई तालिम दिएको हो । वडा नम्बर १, २, ३ र ८ नं. वडाका २६ जना महिलाहरुले स्थानीयस्तरमा पाइने पराल, मकैको पोस्कर, काँश, मुज, बाबियो र थाकलबाट हस्तकलाका सामग्रीहरु बनाउन सिकेका छन् ।
थाकल, पोस्कर, कुस, मुज र परालबाट लगायतका सामग्री बनाउन सिकेको तुलसीपुर-२ कुइरेपानीका धनराशी चौधरीले बताउनुभयो । उहाँले अब हस्तकलाका सामग्री उत्पादन गरेर आयआर्जनमा जोडिने बताउनुभयो ।
तुलसीपुर-१ की ६५ वर्षीया चन्द्री बिकलाई पनि हस्तकलासम्बन्धीको यो तालिमले उत्साहित बनाएको बताउनुभयो । धेरै दुःख गर्न नपर्ने तर कामलाई निरन्तरता दिने हो भने राम्रो आम्दानी गर्न सकिने भन्दै बिकले बृद्ध अवस्थामा पनि आफूसक्दो काम गर्नुपर्छ भनेर तालिम सहभागी भएको धारणा राख्नुभयो ।
स्थानीयस्तरको कच्चा पदार्थबाट उत्पादित सामग्रीहरुको निर्यात बढाउने उद्देश्यका साथ फाउण्डेशनले महिलाहरुलाई विभिन्न खालका तालिम दिंदै आएको फाउण्डेशनका केन्द्रीय अध्यक्ष घनश्याम पाण्डेले बताउनुभयो ।

संस्थाले स्थानीयस्तर तथा वनमा पाइने वस्तुबाट सामग्री निर्माण गरेर आत्मनिर्भर बनाउ बाँसबाट विभिन्न सामग्री बनाउने, पातबाट टपरी बनाउनेलगायतका तालिमहरु प्रदान गर्दै आएको पाण्डेले बताउनुभयो ।
आइतबार २५ दिने तालिम समापनको अवसरमा तुलसीपुर २ का अध्यक्ष भीमबहादुर योगी, ८ का अध्यक्ष धर्मराज वली, १८ का अध्यक्ष माधव वलीलगायतका वक्ताहरुले ग्रिन फाउण्डेशन नेपालले महिलाहरुलाई स्थानीयस्तरमा पाइने कच्चा पदार्थबाट सामग्री निर्माण सिप प्रदान गरेर आत्मनिर्भर बनाउने अभियानलाई निरन्तरता दिएको धारणा राख्नुभयो ।
सिप सिकेका महिलाहरुले समूह निर्माण गरेर व्यवसायिक योजनासहित आएमा उद्यम प्रवद्र्धनका लागि स्थानीय सरकारले आवश्यक बजेटको व्यवस्था गरिदिने तुलसीपुर-१८ का अध्यक्ष तथा नगरका प्रवक्ता माधव वलीले बताउनुभयो । ग्रिन फाउण्डेशन नेपाल दाङका अध्यक्ष विष्णुबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण गणेश भण्डारीले गर्नुभएको हो ।