
बुटवल, २ पुस । बुटवल-गोरुसिङ्गे सडक विस्तारको काम अबको एक महिनापछि सुरु गरिने भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत ५० किलोमिटर लामो उक्त सडक विस्तार गर्न लागिएको हो ।
जसअनुसार अहिले माटो परीक्षणको लागि ल्याब निर्माण, सामग्रीहरूको व्यवस्थापन, सडक क्षेत्रको नाप जाँचलगायतका काम भएका छन् । यस्तै बन मन्त्रालयले रुख काट्नको लागि अनुमति दिएपछि अहिले रुखको मार्किङको काम पनि भइरहेको बुटवल-गोरुसिङ्गे सडक परियोजना प्रमुख इन्जिनियर कुशलता न्यौपानेले जानकारी दिनुभयो ।
चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष् निर्माण सेवा जेभीले उक्त सडक विस्तारका लागि ठेक्का पाएका छन् । १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा ३ वर्षभित्र काम पूरा गर्नेगरी गत असार १३ गते ठेक्का सम्झौता भएको थियो ।
न्यौपानेले अहिले पूर्व तयारी काम भइरहेको र माघ महिनाबाट सडक विस्तारका लागि औपचारिकरुपमा काम थाल्ने बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय परामर्शदाताले निर्माण सामग्रीको गुणस्तर परीक्षण गरेर मात्र निर्माणको अनुमति दिने भएकाले पूर्व तयारीको काम धमाधम भइरहेको बताउनुभयो ।
उहाँले सवारी साधन र यात्रुलाई सास्ती हुन नदिन अहिलेको पिच नभत्काई दायाँ-बायाँको काम गरेर मात्र बिचको सडक पछि बनाउने तयारी गरेको बताउनुभयो । । २०१९ सालमा बनेको बुटवल-गोरुसिङ्गे सडक खण्ड ६२ वर्षपछि विस्तार हुन लागेको हो ।