२०८१ फाल्गुन ६ गते मङ्गलवार

समाजसेवी महतारा दम्पतिले दिए, बालकालिकालाई न्यानो कपडा

दाङ, १ पुस । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ कल्ले राम्रीकोटमा रहेको प्राथमिक विद्यालय अध्ययरत बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । समाजसेवी टोप बहादुर महतारा र उहाँको धर्मपत्नी गिता विष्ट महताराले आज विद्यालयमै पुगेर बालबालिकालाई न्यानो कपडा वितरण गर्नुभएको हो ।

भौगोलिक रुपमा विकट क्षेत्रमा रहेको विद्यालयमा अध्ययरत बालबालिकाको पठनपाठनमा सहजता ल्याउनका लागि महतारा दम्पतिले न्यानो कपडा वितरण गर्नुभएको हो ।

विद्यालयमा शिशु कक्षादेखि ५ कक्षासम्म अध्ययनरत बालबालिकालाई महतारा दम्पतीले न्यानो कपडा वितरण गर्नुभएको विद्यालयका प्रधानाध्यापक टेक बहादुर गुरुङले जानकारी दिनुभयो । न्यानो कपडाले बालबालिकाको पठनपाठनमा सहजता ल्याउने उहाँले बताउनुभयो ।

समाजसेवी टोप बहादुर महताराले विद्यालयमा अध्ययनरत अधिकांश बालबालिका विपन्न परिवारका रहेको हुँदा चिसो मौसमकै कारण बालबालिकाको पठनपाठन प्रभावित हुने भएकाले पनि न्यानो कपडा (स्विटर) वितरण गरिएको बताउनुभयो ।

उहाँले प्रावि कल्ले राम्रीकोट तुलसीपुर उपमहानगरपालिका भित्रको विद्यालय भएपनि भौगोलिक विकटताका कारण विद्यालयमा अध्ययनरत बालबालिका विपन्न परिवारकै रहेको बताउनुभयो ।

चिसो मौसममा न्यानो कपडा नहुँदा बालबालिका विद्यालय नआउने र उनीहरुको पठनपाठनमा समस्या हुने गरेको अवस्थालाई मध्यनजर गरी न्यानो कपडा वितरण गरिएको उहाँले बताउनुभयो ।

उहाँले बालबालिकाको असल शिक्षाका लागि अभिभावक, शिक्षक र विद्यालयका पदाधिकारीको भूमिका पनि असल हुनुपर्ने बताउनुभयो । घरमा हुँदा अभिभावक र विद्यालयमा हुँदा शिक्षकले जिम्मेवारी गम्भिरतापूर्वक पुरा गर्ने हो भने दक्ष जनशक्ति उत्पादन गर्न सकिने उहाँको भनाइ छ ।

यस्तै उहाँको धर्मपत्नी गिता विष्ट महताराले आफुहरुले बालबालिकाको उज्वल भविष्यका लागि विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई विगतदेखि नै न्यानो कपडा वितरण गर्ने गरेको बताउनुभयो ।

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सदस्य समेत रहनुभएकी बिष्टले बालबालिकाको शैक्षिक प्रगतिको लागि न्यानो कपडा पनि एउटा महत्वपूर्ण पाटो भएको बताउनुभयो । उहाँले बालबालिकालाई न्यानो कपडा वितरण गर्न पाउँदा खुशी लागेको बताउनुभयो । न्यानो कपडा पाएपछि बालकालिका पनि खुशी भएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम थापाको अध्यक्षतामा न्यानो कपडा वितरण कार्यक्रम भएको हो । कार्यक्रममा रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेलले समाजसेवी महतारा दम्पतिले विद्यार्थीको पढाइमा सहजता ल्याउनका लागि न्यानो कपडा वितरण गरेकोमा प्रशंसा गर्नुभयो । कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक गुरुङले गर्नुभएको हो । विद्यालयमा लुम्बिनी र कर्णाली प्रदेशका बालबालिकाले अध्ययन गर्ने गरेका छन् ।

प्रकाशित मिति : २०८१ पुष १ गते सोमवार
प्रतिक्रिया दिनुहोस