
दाङ, २५ मंसिर । लुम्बिनी प्रदेशमा रेबिजविरुद्धको खोपको अभाव देखिएको छ । बुटवलस्थित लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमै खोपको अभाव भएपछि प्रदेशका १२ जिल्लाका अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा रेबिजविरुद्धको खोप पुग्न सकेको छैन । सरकारले स्वास्थ्य आपूर्ति केन्द्रलगायत ४० स्वास्थ्य संस्थामा रेबिजविरुद्धको खोप उपलब्ध गराइँदै आएको छ ।
बुटवलस्थित लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले ती संस्थामा कोटा निर्धारण गरी खोप उपलब्ध गराउँछ । केन्द्रमै अभाव भएपछि स्वास्थ्य संस्थामा उपलब्ध गराउन नसकिएको हो । लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र खोप शाखाका हरि आचार्यले सबैतिरबाट खोपको माग आए पनि स्टक नहुँदा उपलब्ध गराउन नसकिएको बताउनुभयो ।
प्रदेशले रेबिजविरुद्धको खोप उपलब्ध गराउन गत भदौदेखि माग गर्दै आएको छ । आचार्यका अनुसार स्वास्थ्य मन्त्रालयको सरुवा रोग नियन्त्रण महाशाखाबाट गत वर्ष लुम्बिनी प्रदेशका लागि एक हजार १६० मात्रा ‘एन्टिरेबिज भ्याक्सिन’ उपलब्ध भएको थियो ।
अघिल्लो वर्षको मौज्दात रहेको १२ हजार १२५ मात्रासमेत गरी प्रदेशले कात्तिक दोस्रो सातासम्म केही उपलब्ध गराए पनि त्यसपछि वितरण गर्न सकेको छैन । ४० स्थानका लागि मासिक पाँच हजार ७७० का दरले वार्षिक ६९ हजार २४० मात्रा आवश्यक पर्ने आचार्यले बताउनुभयो ।