
दाङ, २४ मंसिर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ श्रीगैंमा दुई दिनसम्म भएको रिजाल बन्धुको देवालीमा सात सय बढीले निशुल्करुपमा स्वास्थ्य जाँच गराएका छन् । देवालीमा उपस्थित भक्तजनले पुष्पन हेल्थ नेपालको हेस्थ डेस्कमा स्वास्थ्य जाँच गराएका हुन् ।
शनिबार र आइतबार दुई दिनसम्म सात सय बढी भक्तजनले स्वास्थ्य जाँच गराएको पुष्पन हेल्थ नेपालका अध्यक्ष पुष्पराज रिजालले जानकारी दिनुभयो । हेस्थ डेस्कमा सुगर, प्रेसर लगायतका जाँच गरिएको समस्या भएकालाई निशुल्क औषधि समेत वितरण गरिएको उहाँले बताउनुभयो ।

पुजापाठ गर्न आएका भक्तजनले स्वास्थ्य जाँच गराउन पाउँदा खुशी व्यक्त गरेका छन् । पुष्पन हेल्थ नेपालले विभिन्न समयमा ठाउँ-ठाउँमा निशुल्क स्वास्थ्य जाँच गर्ने गरेको छ ।
श्रीगैँमा रहेको देवघरमा समावेशी देवाली कार्यक्रमको आयोजना गरिएको थियो । पुजा व्यवस्थापन समितिका अध्यक्ष श्यामलाल रिजालले देवाली शनिबार र आइतबार दुई दिनसम्म संचालन भएको बताउनुभयो ।

रिजाल बन्धुको मुख्य आयोजना भएपनि ब्राह्मण, क्षेत्री, खत्री लगायतका सबै समुदायका परिवारहरूले पनि देवाली मनाउने भएकाले यसलाई लुङ्गालीहरूको समावेशी देवाली नामाकरण गरिएको अध्यक्ष रिजालले जानकारी दिनुभयो । दाङमा लुङबाट बसाई सरेर आएका २५० भन्दा बढी रिजाल परिवार रहेका छन् ।