२०८१ माघ २ गते बुधवार

चिसो बढ्दा भूकम्प प्रभावितको जनजीवन पनि कष्टकर बन्दै

सल्यान, २३ मंसिर । गतवर्षको कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्र बिन्दु भएर गएको भूकम्पले सल्यानका चार हजार चार सय भन्दा धेरै घरमा क्षति पुगेको थियो । भूकम्प गएको एक वर्ष पूरा भईसक्दा पनि प्रभावितहरू अस्थायी टहरामै बस्न बाध्य भएका छन् ।

चिसो बढ्दै जाँदा भूकम्प प्रभावितको जनजीवन पनि कष्टकर बन्न थालेको छ । सरकारले अस्थायी टहरा निर्माणका लागि पहिलो किस्तामा २५ हजार रुपैँया दिए पनि, दोस्रो किस्ता कतिपय प्रभावितले पाएका छैनन् । भुकम्पपछि गाउँमा चर्किएका र बस्न जोखिम भएका सबै घर भत्काइएपछि खाने, बस्ने मात्रै नभइ, कतिपयलाई स्वास्थ्यमासमेत समस्या देखिएको स्थानीयवासी झुलि खड्काले बताउनुभयो ।

भूकम्पका कारण जिल्लाको दार्मा गाउँपालिकामा ४ हजार ८०, कुमाख गाउँपालिकामा एक सय ६७, बागचौर नगरपालिकामा एक सय ५४ र त्रिवेणी गाउँपालिकामा १६ घरमा क्षति पुगेको थियो । सबैभन्दा धेरै प्रभावित भएको दार्मा गाउँपालिकाका भूकम्प प्रभावित अझै अस्थायी हटरा निर्माणका लागि सरकारले दिने अनुदानको पखाईमा छन् ।

स्थानीय सरकारले केन्द्र सरकारसँग समन्वय गरी पुनर्निर्माणको प्रक्रिया सुरु गर्ने बताएको भए पनि ठोस काम भने देखिएको छैन । भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि २०८० बमोजिम सङ्घीय सरकारले जिल्लामा अस्थायी आवास निर्माणका लागि ७ करोड रुपैँया पठाएको थियो ।

जिल्ला प्रशासन कार्यालय सल्यानकाअनुसार जिल्लाका करिब २ हजार ७ सय प्रभावितले पहिलो किस्तावापतको २५ हजार रुपैँया पाएका छन् भने दोस्रो किस्ताको पर्खाइमा छन् । यस्तै करिब १ हजार ७ सय प्रभावित अझै पहिलो किस्ताकै पर्खाईमा रहेका छन् । चिसो बढ्दै जाँदा सल्यानका भूकम्प प्रभावितको अवस्था झन् कष्टकर बनिरहेको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस