२०८१ माघ १ गते मङ्गलवार

जेसिजले बनाउने भयो अरनिको मैदानमा शौचालय


दाङ, २२ मंसिर । तुलसीपुरको अरनिको मैदानमा सार्वजनिक शौचालय निर्माण हुने भएको छ । सरकारले अरनिको मैदानमा शौचालय निर्माण गर्न चासो नदिएपछि तुलसीपुर नगर जेसिजले शौचालय निर्माण गर्ने भएको हो ।

शौचालय निर्माणको आज शिलान्यास गरिएको छ । प्रतिनिधि सभा सदस्य दिपक गिरीले शौचालयको शिलान्यास गर्नुभएको हो । उहाँले शौचालय निर्माणमा तुलसीपुर नगर जेसिजले अग्रणी भूमिका खेलेकोमा प्रशंसा गर्नुभयो ।

तुलसीपुर नगर जेसिजका अध्यक्ष पूणर् बिक्रम डाँगीले मैदानमा शौचको समस्या रहेकोले जेसिजले शौचालय निर्माण गर्न थालेको बताउनुभयो । उहाँका अनुसार ४५ दिनमा शौचालय निर्माण सकिनेछ ।

शौचालय निर्माण समितिका संयोजक मोहन सुनारले करिब १५ लाखमा शौचालयको निर्माण हुने बताउनुभयो । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष यमकान्त भण्डारीले शौचालयमा पानीको अभाव हुन नदिने बताउनुभयो ।

प्रकाशित मिति : २०८१ मङ्सिर २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस