दाङ, २० मंसिर । ज्ञान ज्योति फाउन्डेसनको आयोजनामा ज्ञान ज्योति फाउन्डेसन अन्तर्गत रहेका नौ वटा विद्यालयहरूको सहभागितामा बेल्झुण्डी रङ्गशालामा आज बाट लिटिल स्टार च्याम्पियनसिप सिजन-२ सुरु भएको छ ।
ज्ञान ज्योति फाउन्डेसनका अध्यक्ष टिका बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा तुल्सीपुर उपमहानगरपालिका शिक्षा महाशाखा अधिकृत मन बहादुर खड्काको प्रमुख आतिथ्यता तथा ज्ञान ज्योति फाउन्डेसनका सिइओ सुरेन्द्र जिसी र संस्कार पाठशाला दाङका म्यानेजिङ डाइरेक्टर दीप बस्नेतको विशिष्ट आतिथ्यताका साथै सहभागी नौ वटा विद्यालयका प्रिन्सिपलको आतिथ्यतामा आजदेखि दुई दिनसम्म सञ्चालन हुने गरी लिटिल स्टार च्याम्पियनसिप सिजन- २ को उद्घाटन गरिएको छ ।
फाउन्डेसन अन्तर्गत रहेका नौ वटा विद्यालयमा अध्ययन गर्ने कक्षा युकेजीका ६६८ छात्र छात्राहरुले प्रतियोगितामा सहभागी जनाउने छन् । विद्यार्थीहरूलाई किताबी ज्ञान मात्र नभई शारीरिक मानसिक र नैतिक विकासका लागि प्रतियोगिता गरिएको कार्यक्रम संयोजक राकेश डाँगीले जानकारी दिनुभयो । कार्यक्रममा जुम्बा, योग, सूर्य नमस्कार, नृत्य, पि.टि, मार्च पास्टका साथै २४ वटा विविध खेलको आयोजना गरिनेछ । उद्घाटन कार्यक्रमको सञ्चालन सरिता खनाल र रितु जिसीले गर्नुभएको थियो ।