२०८१ मङ्सिर २३ गते आइतवार

१६ दिने अभियानमा कानुनी शिक्षादेखि महिला स्वास्थ्य मेला संचालन हुने


दाङ, ७ मंसिर । तुलसीपुरमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा कानुनी शिक्षादेखि महिला स्वास्थ्य मेला संचालन हुने भएको छ ।

मंसिर १० देखि २५ गतेसम्म सञ्चालन हुने अभियानमा निशुल्क कानुनी शिक्षा, महिला स्वास्थ्य मेला र विभिन्न सचेतनामूलक कार्यक्रम संचालन हुने भएको हो ।

अभियानको शुरुवात सेतो रिबन लगाएर गरिने तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले जानकारी दिनुभयो ।

अभियानलाई सफल बनाउन आज तुलसीपुरमा क्रियाशिल पत्रकारसंग भएको अन्तरक्रिया तथा भेटघाटमा शाखा प्रमुख श्रेष्ठले १६ दिने अभियानमा विभिन्न कार्यक्रम संचालन गरिने बताउनुभयो ।

उहाँका अनुसार महिला बालबालिका तथा सामाजिक विकास शाखा, मेट्रो कलेज र ओरेकको संयुक्त पहलमा हिंसापीडितहरूलाई निशुल्क कानुनी सहायता प्रदान गरिने छ । उहाँले यो कार्यक्रमले हिंसापीडितहरूको न्यायमा पहुँच सहज पुग्ने बताउनुभयो ।

यस्तै हिंसा प्रभावित क्षेत्रमा कार्यरत महिला सहकारी संस्था र अन्य संघ-संस्थाहरूबीच समन्वय गरी हिंसा निवारणका लागि संजाल निर्माण र क्षमता विकास कार्यक्रमहरू गरिने प्रमुख श्रेष्ठले बताउनुभयो ।

अभियानलाई सफल बनाउन रेडियोमार्फत लैंगिक हिंसाविरुद्ध सचेतनामूलक सन्देशहरू प्रसारण गरिने, मर्यादित महिनावारी दिवस, अपांग अधिकार दिवस र मानव अधिकार दिवस पनि मनाइने उहाँले बताउनुभयो ।

यस्तै वडा नं. १४ मा ओरेकको सहकार्यमा एकीकृत महिला स्वास्थ्य मेला आयोजना गरिने भएको छ । यसैगरी राप्ती आँखा अस्पतालको सहकार्यमा लैंगिक हिंसाविरुद्ध सचेतना जगाउने कार्यक्रमहरू गरिने शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।

लैंगिक हिंसाविरुद्धको यो १६ दिने अभियानले तुलसीपुरमा हिंसा निवारण, समुदायमा चेतना जगाउने र पिडितहरूलाई आवश्यक सहयोग प्रदान गर्न महत्वपूणर् भूमिका खेल्ने उहाँले बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका र साझेदार संस्थाहरूले यो अभियानलाई प्रभावकारी बनाउन समुदायले सक्रिय सहभागिता जनाउनुपर्नेमा शाखा प्रमुख श्रेष्ठले जोड दिनुभयो ।

प्रकाशित मिति : २०८१ मङ्सिर ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस