दाङ, ७ मंसिर । तुलसीपुर बजार क्षेत्रमा पर्ने अरनिको मैदान संरक्षणमा तुलसीपुर उद्योग वाणिज्य संघको चासो देखाएको छ । मैदानलाई संरक्षण गर्न र भौतिक पुर्वाधार निर्माण गर्न तुलसीपुर उद्योग वाणिज्य संघले पहल थाल्ने भएको हो ।
दशकौँदेखि रहेको अरनिको मैदान अतिक्रमणको चपेटामा पर्न थालेपछि संघले तुलसीपुर उपमहानगरपालिकासंग सहकार्य गरेर संरक्षण गर्ने सघंका अध्यक्ष बिनिल केसीले जानकारी दिनुभयो ।
संघको शुक्रबार बिहान बसेको बैठकले खेलाडीहरुलाई समस्या भैरहेको भन्दै तत्काल अरनिको मैदानमा आवश्यक पर्ने शौचालय, स्टेज र चेनजिङ रुम निर्माण गर्न पहल थाल्ने उहाँले बताउनुभयो । यसका लागि महासचिव केशबराज केसीलाई जिम्मेवारी दिने निणर्य गरिएको छ ।
संघका निवर्तमान अध्यक्ष रामप्रसाद चालिसे, पूर्व अध्यक्षहरु बिमल रिजाल, बिरु रावत,व्यवसायीहरु होताराम आचार्य, उपाध्यक्ष नरेशराज भण्डारी, प्रेस सल्लाहकार शरद रेग्मी लगायतले तुलसीपुर क्षेत्रको व्यवसायिक सुरक्षा, सामाजिक विकास, बजार विस्तार र सरसफाईका लागि संघले भूमिका खेलिरहेको बताउनुभयो । बैठकमा कोषाध्यक्ष रुपेश शर्माले आर्थिक प्रतिवेदन र महासचिब केशबराज केसीले आजसम्म संस्थाले गरेका गतिविधिका बारेमा जानकारी गराउनुभयो ।