रुकुमपश्चिम, ४ मंसिर । रुकुमपश्चिममा प्रहरीले श्रीमानको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।
चौरजहारी नगरपालिका वडा नम्बर २ मा दीपा कुमाललाई श्रीमान मधु कुमालको हत्या अभियोगमा आज मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
३२ वर्षीया दीपाले ४० वर्षीय मधुको टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको आरोप लागेको जिल्ला प्रहरी प्रमुख तथा डिएसपी नवराज पोखरेलले जानकारी दिनुभयो ।
डिएसपी पोखरेलका अनुसार दीपा र मधुका १६ वर्षीय छोरा खिमले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए । घरायसी विवादका क्रममा दीपाले मधुलाई चिपर्ट प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी पोखरेलले जानकारी दिनुभयो ।
मृतकको शव अहिले पोस्टमर्टमका लागि जिल्ला अस्पताल सल्ले लगिएको छ । घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको बताएको छ ।
प्रकाशित मिति : २०८१ मङ्सिर ४ गते मङ्गलवार