इटहरी, २ मंसिर । इटहरीको खनार नजिकै शान्ति चौकमा बसको ठक्करबाट एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ । इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मे १ ख ४५७४ नम्बरको बसले ठक्कर दिँदा साइकल यात्री बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बालिका जनता मावि इटहरीमा कक्षा ९ मा अध्ययनरत इटहरी १० कि सम्झना यादव रहेको प्रहरीले जनाएको छ ।
दुर्घटना गराएर भागेको बसलाई खनारको सुनसरी–मोरङ सिँचाई आयोजनाको पुलनजिकै स्थानीयले आगो लगाएका छन् । आगजनीबाट बस पूर्णरूपले जलेको छ । दुर्घटनापछि आक्रोसित बनेका स्थानीयले बसलाई खनार चोकमै रोकेर आगो लगाएका हुन् । बसमा आगजनी हुन थालेपछि यात्रुहरु निस्किएर भागेका थिए । अहिले यस क्षेत्रमा अवस्था तनावग्रस्त बनेको छ ।
दुर्घटना स्थलमा ठुलो सङ्ख्यामा स्थानीय र प्रहरीको उपस्थिति रहेको छ । दुर्घटनास्थलमा आक्रोशित स्थानीयले सवारी साधनमा ढुङ्गा मुढा र तोडफोड गरेपछि प्रहरीले हवाई फायर जारी राखेको छ । दुर्घटना स्थलमा भेला भएको भिडलाई प्रहरीले तितरबितर पार्ने प्रयास गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाका अनुसार स्थानीयले सडक अवरुद्ध गरेपछि अहिले खनारको अवस्था तनावग्रस्त बनेको छ । स्थानीय आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ ।
प्रहरीले सडकमा जम्मा भएको भिडलाई तितरबितर पार्न हवाइ फायर र अश्रूग्यास प्रहार गरेको उनले बताए। तर स्थानीयले अझै सडक छाडेका छैनन्। सडक अवरुद्ध भएपछि प्रहरीले अन्य सवारीलाई अन्य सडकबाट गन्तव्यतर्फ पठाइरहेको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।