सल्यान, २४ कात्तिक । सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर १ मा तेस्रो वडा कप फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । खेलकुदको विकास र युवा प्रतिभालाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले गर्नुभएको हो ।
उद्घाटन समारोहमा मन्त्री अधिकारीले खेलकुदले समाजमा एकता, मित्रता र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्ता कार्यक्रमले युवाहरूलाई सकारात्मक मार्गतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उद्घाटन कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले कपुरकोटको खेलकुद क्षेत्रको विकास र विस्तारका लागि पालिकाले निरन्तर पहल गर्ने प्रतिबद्धता जनाउँदै खेलकुद गतिविधिले स्थानीय युवाहरूलाई सशक्त बनाउने र समाजको समग्र विकासमा योगदान पु¥याउने धारणा व्यक्त गर्नुभयो । यस्तै उपाध्यक्ष प्रकाश भण्डारीले खेलकुदका माध्यमबाट युवालाई सकारात्मक बाटोमा लाग्न प्रेरित गर्नुभयो ।
समारोहको अध्यक्षता वडा नम्बर १ का अध्यक्ष बालाराम खड्काले गर्नुभएको हो । उहाँले वडा कपले वडा नम्बर १ मा रहेका युवाहरूको खेलकुद प्रतिभालाई उजागर गर्न र उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तरमा प्रस्तुत हुने अवसर दिने बताउनुभयो ।
वडा सदस्य अनिता पुनको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा स्थानीय वन महासंघ कपुरकोटका अध्यक्ष खडग केसी, नागरिक समाजका तर्फबाट विष्णु प्रसाद शर्मा र सल्यान उद्योग वाणिज्य संघका प्रतिनिधि पवन कार्कीले वडा कप जस्ता प्रतियोगिताले समाजमा खेलकुद संस्कृति विस्तार गर्न तथा स्थानीय स्तरमा खेलकुदको महत्वलाई बढावा दिन सहयोग पु¥याउने धारणा राख्नुभयो ।
त्यस अवसरमा वडा नम्बर १ मा रहेका जेष्ठ नागरिकहरूलाई सम्मानित गरिएको छ । उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिएको थियो ।