दाङ, १४ कार्तिक । सामाजिक अभियन्ता उपेन्द्र पौडेलले पैदलयात्रुहरूको सुरक्षा र सुविधा बढाउन व्यक्तिगत लगानीमा जेब्राक्रस निर्माण गर्ने अभियान सञ्चालन गर्नुभएको छ।
उहाँले अत्यधिक भिडभाड हुने घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडि आफ्नै खर्चमा जेब्राक्रस निर्माण गर्नुभएकाे छ ।
दैनिक आवतजावत गर्ने पैदलयात्रीलाई सुरक्षित बाटो पार गर्न सहयोग पुर्याउने उद्देश्यले जेब्राक्रस निर्माण गरिएको हाे ।
पौडेलले यस कार्यलाई एक सामाजिक दायित्व मात्र नभएर सरकारलाई पैदलयात्री सुरक्षामा ध्यान दिन चेतावनीको रुपमा पनि लिनुपर्ने बताउनुभयो ।
‘सरकारी निकायहरूले पैदलयात्रीका लागि आवश्यक पूर्वाधार विकासमा लामो समयदेखि बेवास्ता गरिरहेको छ ।’ उहाँले भन्नुभयो-`यो मेरो व्यक्तिगत प्रयास मात्र होइन, यो सरकारको ध्यानाकर्षणका लागि एक सन्देश हो। पैदलयात्रीको जीवन रक्षाका लागि यस्ता पूर्वाधार आवश्यक छन्।´
यो अभियान अन्तर्गत पौडेलले भोलि बिहीबार तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल अगाडि पनि यस्तै जेब्राक्रस निर्माण गर्ने बताउनुभयो ।
अस्पताल तथा विद्यालय वरपरका क्षेत्रहरूमा सुरक्षित सडक पार गर्ने पूर्वाधार अत्यावश्यक भएकाले पौडेलले व्यक्तिगत रुपमा यो कामलाई निरन्तरता दिने बताउनुभयाे ।
सडक सुरक्षामा मात्र होइन, पौडेलले यसअघि पनि सडकका खाल्डाखुल्डी पुर्ने, सार्वजनिक स्थानमा सरसफाइको काम गर्ने जस्ता कार्यमार्फत सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आउनुभएको छ ।
सडक सुरक्षामा सुधार र सरकारी निकायहरूको ध्यानाकर्षण गराउन सामाजिक अभियन्ता पौडेलले जेब्राक्रस,सडकका खाल्डा पुर्ने काम गरिरहनुभएकाे छ ।