२०८३ भाद्र १६ गते मङ्गलवार

सरसफाइमा स्थानीय सरकारले चासो नदिएको गुनासो


तुलसीपुर, १३ कार्तिक । बजारको सरसफाइमा स्थानीय सरकारले चासो नदिएको तुलसीपुरका व्यवसायीले गुनासो गरेका छन् । सरसफाइ वाफतको कर राज्यलाई बुझाएपनि सरकारले बजारको सरसफाइमा ध्यान दिन नसक्दा सुन्दरतामा समेत ह्रास आउन थालेको उनीहरुको भनाई छ ।

चेम्बर अफ कमर्श तुलसीपुरका अध्यक्ष ऋषि भण्डारीले स्थानीय सरकार तुलसीपुर उपमहानगरपालिकाले बजारको सरसफाई व्यवस्थापनमा चासो नदिदा व्यवसायी मारमा परेको बताउनुभयो । मंगलबार संचालन भएको सरसफाई अभियानमा उहाँले कतिपय घरबेटीले गरेको फोहोर पनि व्यवसायीले व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

उहाँले स्थानीय सरकारले बजारको सरसफाईमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले गल्ने र नगल्ने फोहोर छुट्याएर राखिदिन सम्पूर्णलाई आग्रह समेत गर्नुभयो ।

यस्तै तुलसीपुर होटल व्यवसायी समितिका अध्यक्ष इन्द्र बहादुर बस्नेतले सरसफाई स्वास्थ्य र प्रतिष्ठासंग प्रत्यक्ष जोडिएकाले पनि सबैले सरसफाईमा ध्यान दिनुपर्ने बताउनुभयो । तुलसीपुर नगर जेसिजका अध्यक्ष पूर्ण बिक्रम डाँगीले तुलसीपुरमा हरेक मंगलबार संचालन हुने सरसफाई अभियानले आम नागरिकलाई सचेतना दिएको बताउनुभयो ।

झुलेनी सेवा समाज तुलसीपुरका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले सुन्दर तुलसीपुर सहर बनाउनका लागि सरसफाइलाई नै जोड दिनुपर्ने बताउनुभयो । चेम्बर अफ कमर्श तुलसीपुरसहित तुलसीपुर होटल व्यवसायी समिति, तुलसीपुर नगर जेसिज, ईलाका प्रहरी कार्यालय तुलसीपुर, सशस्त्र प्रहरी लगायतको सहभागीतामा तुलसीपुर बजारका विभिन्न स्थानमा सरसफाई गरिएको हो ।

बिरेन्द्रचोकबाट शुरु भएको सरसफाई अभियान ङ लाइन , पिपलबोट उकालो, बसपार्क लगायतका ठाउँमा संचालन भएको हो । कार्यक्रमको सहजीकरण चेम्बर अफ कमर्श तुलसीपुरका महासचिव दुर्गा प्रसाद शर्माले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ कार्तिक १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस