२०८१ फाल्गुन १ गते बिहिवार

दोस्रो प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुरु


दाङ, ११ कार्तिक । दाङको तुलसीपुरमा आजदेखि दोस्रो प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुरु भएको छ । तुलसीपुर-५ स्थित अरनिको मैदानमा शुरु भएको प्रतियोगितामा १० जिल्लाका करिब ८ सय तेकवान्दो खेलाडीको सहभागीता रहेको छ ।

लुम्बिनी प्रदेश तेक्वान्दो संघले आयोजना गरेको दोस्रो लुम्बिनी प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा पुम्से र स्पाइरिङ दुबै विधाका खेलहरु भइरहेका छन् ।

प्रतियोगितामा रुकुम पूर्व र गुल्मी जिल्लाका खेलाडी उपस्थित छैनन् । १२ जिल्लामध्ये ३ जिल्लामा जिल्ला संघ गठन हुन नसकेका कारण केही जिल्लाका खेलाडी उपस्थित नभएको लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजालले बताउनुभयो ।

गत वर्षदेखि प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता आयोजना थालेको संघले गत वर्षको तुलनामा यो वर्ष धेरै कुराहरुमा सुधार गरेको र आगामी वर्षमा अझै सुधार गरेर अगाडि बढ्ने अध्यक्ष रिजालले बताउनुभयो ।

स्वास्थ्यको लागि र बालबालिकाहरुलाई कुलतको बाटोमा लाग्नबाट जोगाउन प्रतियोगिता आयोजना गरेको उहाँले बताउनुभयो । रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. ५ जुँगारका १० वर्षीय जस्टिन रानाले भविष्यमा राम्रो खेलाडी बन्ने सोच भएको र प्रतियोगितामा भाग लिन पाउँदा खुशी लागेको बताउनुभयो ।

प्रकाशित मिति : २०८१ कार्तिक ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस