दाङ, ११ कार्तिक । ज्ञानज्योति एजुकेशन फाउण्डेशन तुलसीपुरको रनिङ शिल्ड आजदेखि शुरु भएको छ । तुलसीपुर-१८ स्थित बेलझुण्डी रंगशालामा रनिङ शिल्ड शुरु भएको हो ।

तीन दिनसम्म संचालन हुने रनिङ शिल्डमा फाउण्डेशन अन्तर्गतका ८ वटा विद्यालयको सहभागीता रहेको अमृत एकेडेमी स्कुलका प्रिन्सिपल प्रताप सेजुवालले जानकारी दिनुभयो ।

प्रतियोगितामा फाण्डेशन अन्तर्गतका आदर्श एकेडेमी, राप्ती पब्लिक इंलिस बोर्डिङ स्कुल, ज्ञान ज्योति सेकेन्डरी स्कुल, पि एण्ड के पाठशाला, संस्कार पाठशाला, ज्ञानज्योति प्रोग्रेशिप, अमृत एकेडेमी र ज्ञान ज्योति पब्लिक स्कुल सहभागी रहेका छन् ।

प्रतियोगितामा सट पुट, १ सय, ४ सय, १ हजार र १ हजार ५ सय मिटर दौड, लङजम्प, हाइजम्प लगायतका खेल संचालन हुने भएका छन् ।

फाउण्डेशनले विद्यार्थीलाई चौतर्फी क्षमताको विकास गराउन हरेक वर्ष रनिङ शिल्डको आयोजना गर्ने गरेको फाउण्डेशनका संस्थापक अध्यक्ष टिका बहादुर जिसीले बताउनुभयो ।
अमृत एकेडेमी स्कुलका प्रिन्सिपल प्रताप सेजुवालको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का अध्यक्ष प्रेमनाथ योगीको प्रमुख आतिथ्यतामा रनिङ शिल्डको उद्घाटन कार्यक्रम भएको हो ।

त्यस अवसरमा वडा अध्यक्ष योगीले रनिङ शिल्ड प्रतियोगिताले बालबालिकामा खेलकुदप्रतिको रुचि बढाउने बताउने बताउनुभयो । उहाँले प्रतियोगिताले बालबालिकालाई प्रतिष्पर्धा गर्न प्रेरित गर्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण शिक्षक सोमराज बस्नेतले गर्नुभएको हो ।

प्रतियोगिता पर्सिसम्म संचालन हुने आयोजक फाण्डेशनले जनाएको छ ।






