
दाङ, ५ कार्तिक । दलित महिला जनप्रतिनिधिले निर्णायक भूमिकामा अझै पनि विभेद हुने गरेको बताएका छन् । उनीहरूले अहिले पनि दलित लक्षित योजनामा बजेट बिनियोजन गर्न निकै सकस पर्ने गरेको बताएका हुन् ।
दलित महिला संघ दाङले आज तुलसीपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरूले निर्णायक तहमा अझै पनि नेतृत्व तहकै हावि हुने गरेको गुनासो गरेका छन् । बजेट बिनियोजन गर्दा भिख मागेजस्तो गर्नुपर्ने अवस्था अझै पनि रहेको उनिहरूको भनाई छ ।
दंगिशरण गाउपालिका कार्यपालिका सदस्य शीतरा नेपालीले आफू मनोनित भएर आएकै कारण पनि विभेद भएको बताउनुभयो । उहाँले दलित लक्षित बजेट माग्दा दलितलाई मात्रै हुन्छ भनेर थर्काउने गरेको बताउनुभयो । उहाँले दलित शसक्तिकरण ऐेन बनाउन खोज्दा यसअघिका हाकिमले असहयोग गरेको गुनासो गर्नुभएको छ ।
यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ का वडा सदस्य निमा साकीले आफ्ना कुरा अहिलेसम्म केही सम्बोधन हुन नसकेको गुनासो गर्नुभयो । यस्तै वडा नम्बर ९ का दिल कुमारी परियारले दलित समुदायको उत्थानका लागि बजेट माग्दा पनि कसले सिकाएको भनेर प्रश्न गर्ने गरेको बताउनुभयो ।
शुरूवातमा सिक्ने वर्षकै रूपमा रहेको र पछिल्ला वर्षमा दलित लक्षित कार्यक्रममा केहि छुट्याउन थालेको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ का दलित महिला सदस्य डिलमाया नेपाली, तुलसीपुर –११ का वडा सदस्य प्रभा परियार, वडा १० का वडा सदस्य सरू सुनार, वडा नम्बर १३ का वडा सदस्य बेलमती नेपाली, शान्तिनगर–३ का वडा सदस्य भीमा नेपाली र वडा नम्बर ४ का वडा सदस्य उमा बिकले शुरुका वर्ष सिकाइमै बितेपनि पछिल्लो समय दलित लक्षित कार्यक्रमलाई प्राथमिकता दिने गरेको बताउनुभयो ।
दलित महिला संघ दाङका अध्यक्ष युवा कराराले दलित लक्षित योजना प्राथमिकतामा पर्न नसकेको बताउनुभयो । दलित महिला संघले तुलसीपुर उपमहानगरपालिका सहित दंगिशरण गाउँपालिका र शान्तिनगर गाउँपालिकाका दलित महिला जनप्रतिनिधि र संचारकर्मीबिच अन्तरक्रिया गरेको हो ।