२०८१ फाल्गुन ७ गते बुधवार

खाल्डा पुर्न निस्किए पौडेल दम्पति


दाङ, १६ असोज । सडकमा सवारी साधन ओहोरदोहर गरिरहेका छन् । व्यस्त सडकको बिचमा खाल्डा पुर्दै गरेको दृश्य । तुलसीपुर–घोराही सडक खण्डको तुलसीपुर–७ पर्सेनीमा बुधबार दिउँसो भेटिनुभयो सामाजिक अभियान्ता उपेन्द्र पौडेल र उहाँको धर्मपत्नी सरिता पौडेल ।

दिउँसोको टन्टलापुर घाममा सडकको बिचमा खाल्डा पुर्दै गरेका पौडेल दम्पतिलाई कतिपयले अचम्म मानेर नियाल्ने गरेका थिए । कतिपय उहाँहरुलाई सहयोग गर्न बेल्चा बोकेर सडकमा निस्किए ।

यसअघि पनि विभिन्न समयमा समाजको हितमा हुने विभिन्न सामाजिक काम गरिरहनुभएका पौडलले पछिल्लो साता यता सडकका बिचमा परेका खाल्डो पुर्न व्यस्त हुनुहुन्छ ।

सडकमा खाल्डाले दुर्घटनाको जोखिम बढेपछि उहाँ आफै सिमेन्ट र बालुवाको व्यवस्था गरेर सडकका खाल्डा पुर्न लागिरहनुभएको छ । ‘सडकमा खाल्डा परेको छ यसले दुर्घटनाको जोखिम बढेको छ । ’ उहाँले भन्नुभयो–‘यसले ठुला सवारी साधनभन्दा पनि साना सावरी साधनलाई बढी समस्या बनाउने गरेको छ । यसकारण पनि व्यक्तिगत लगानीमै सडकका खाल्डा पुरिरहेको छ, यसमा मलाई धर्मपत्नीले पनि साथ दिएकी छन् भने स्थानीयले पनि निकै सकारात्मक प्रतिक्रिया दिनुभएको छ ।’

बुधबार दिउँसोसम्म तुलसीपुरदेखि पर्सेनीसम्म १३ वटासम्म खाल्डो पुरिसकेको अभियान्ता पौडेलले बताउनुभयो । यो अभियान बिजौरीसम्म संचालन हुने उहाँको भनाई छ । राज्यले गर्नुपर्ने काम अभियान्ता पौडेल दम्पतिले गरेपछि स्थानीय पनि खुशी भएका छन् ।

उहाँको अभियानले राज्यलाई समेत खबरदारी गरेको स्थानीय नारायण भण्डारीले बताउनुभयो । ‘राज्यले सानो सानो कुरामा लापहरबाही गर्ने गरेको छ ।’ उहाँले भन्नुभयो–‘यस्ता किसिमका खबरदारी नागरिकस्तरबाट भइरहनुपर्छ ।’

पौडेलले विभिन्न समयमा सामाजिक काम गरिरहनुभएको छ । उहाँले यसअघि पनि राप्ती प्रादेशिक अस्पतालमा साबुन राखेर खबरदारी गर्नुभएको छ । उहाँले यसअघि विपन्न नागरिकलाई खाद्यान्न वितरण पनि गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ असोज १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस