दाङ, १६ असोज । दाङमा मनसुनजन्य विपत्बाट १३ जनाको मृत्यु भएको छ । यस अवधिमा एक सय ६६ घर परिवार विस्थापित भएका छन् ।
जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र दाङले दिएको जानकारी अनुसार बाढी/चट्याङबाट बाट ११ जना र सर्पदंशबाट दुई जनाको मृत्यु को छ ।
केन्द्रका खरिदार शम्भु आचार्यले दिएको जानकारी अनुसार विस्थापित एक सय ६६ परिवारमध्ये ७४ परिवारका लागि राहत आएको छ ।
साउनमा मात्रै ५९ घर परिवारका लागि आठ लाख ४० हजार रुपैयाँ राहत वितरण गरिएको छ । साथै तीनजना मृतकका परिवारलाई दुई लाख रुपैयाँका दरले छ लाख रुपैयाँ राहत वितरण गरिएको खरिदार आचार्यले जानकारी दिनुभयो ।
उहाँले क्षतिको अवस्था हेरेर १५ देखि ५० हजार रुपैयाँसम्म तत्काल राहत दिने गरिएको जानकारी दिनुभएको छ जसमा पाँच जनाभन्दा धेरै परिवार भएकोमा ५० हजारसम्म र चारजना वा त्यो भन्दा कम भए १५-२० हजारका दरले राहत दिइँदै आएको छ ।
यसैबिच दाङमा ११ वर्षको अवधिमा बाढी पहिरो चट्याङ जस्ता विपतबाट पाँच हजार नौ सय ४८ घरधुरी प्रभावित भएको सरकारी तथ्यांक छ । आर्थिक वर्ष २०७१/०७२ देखि ०८१/०८२ को हालसम्मको घटनालाई केलाउँदा हरेक वर्ष विपतका घटनामा धेरै घरधुरी प्रभावित भएको देखिएको छ ।