२०८१ फाल्गुन १ गते बिहिवार

घोराही-तुलसीपुर सडक : चार खोलामा पुल बन्दै [ कुन खोलामा कति लामो, कति बजेट ? ]

दाङ, १३ असोज ।  दाङको दुई उपमहानगरपालिका जोड्ने मूख्य मार्ग घोराही-तुलसीपुर सडकखण्डमा पर्ने चारवटा खोलामा एकै पटक पुल बन्ने भएका छन् । सबैको ठेक्का सम्झौता भइसकेको छ । जसमा तीनवटा पुल फोरलेन अन्तर्गतका छन् ।

कालाखोला (रानीघाटखोला) मा ९० मिटर लम्बाइ भएको फोर लेनको, ग्वारखोलामा दुई सय २० मिटर लम्बाई भएको दुई लेनको, हापुर खोलामा एक सय ५० मिटर लम्बाई भएको फोरलेन र निर्माणाधीन रहेको सेवारखोलामा ७० मिटर लम्बाई भएको फोरलेनको पुल निर्माण हुने भएको हो । 

सबै पुलको ठेक्का सम्झौता भएर डिजाइन पनि भइसकेको सडक विभागअन्तर्गतको पुल सेक्टर कार्यालय नेपालगञ्जले जनाएको छ ।

सडक विभागअन्तर्गतको पुल सेक्टर कार्यालय नेपालगञ्जबाट ठेक्का सम्झौता भएको कालाखोला र ग्वारखोलाको ३८ महिना, हापुर खोलामा बन्ने पुलको निर्माण अवधि ४२ महिना रहेको छ भने सेवारखोलामा बन्ने पुलको निर्माण अवधि ३६ महिना रहेको छ ।

डिजाइन र सर्वे सबै काम निर्माण कम्पनीको तर्फबाट भएर विभागले स्वीकृत गरेपछि उसैको डिजाइन र गरेको सर्वेको आधारमा ठेक्का सम्झौता हुने गरी डिजाइन एण्ड विल्ड विधिबाट ठेक्का भएको पुल सेक्टर नेपालगञ्जका इन्जिनियर सन्तोष भण्डारीले जानकारी दिनुभयो । 

उहाँले दिएको जाकारी अनुसार कालाखोलामा ९० मिटर लम्बाइ भएको चार लेनको, ग्वार खोलामा दुई सय २० मिटर लम्बाई भएको दुई लेनको, हापुर खोलामा एक सय ५० मिटर लम्बाइ भएको चार लेन र निर्माणाधीन रहेको सेवारखोलामा ७० मिटर लम्बाई भएको चार लेनको पुलको ठेक्का शर्मा-सगुन जेभी बुटवलले पाएको छ भने सेवारखोलामा ७० मिटर लम्बाई भएको चार लेनको पुल निर्माणको ठेक्का रायमाझी निर्माण सेवा प्रालि काठमाडौंले हात पारेको छ ।

कालाखोलामा बन्ने ९० मिटर लम्बाइ भएको चार लेनको पुलका लागि १७ करोड ८२ लाख ७९ हजार आठ सय रुपैयाँमा २०७९ असार २९ गते ठेक्का सम्झौता भएको छ । 

ग्वारखोलामा दुई सय २० मिटर लम्बाई भएको दुई लेनको पुलका लागि २२ करोड पाँच लाख ४७ हजार पाँच सय रुपैयाँमा २०७९ असार २९ गते ठेक्का सम्झौता भएको छ । ग्वारखोलामा अहिले पनि टु लेनको पुल चालु अवस्थामा छ । अब अर्को टु लेनको पुल बनेपछि चार लेन हुने छ । 

हापुर खोलामा बन्ने एक सय ५० मिटर लम्बाई भएको चार लेनको पुलका लागि २७ करोड ८४ लाख ३१ हजार सात सय रुपैयाँमा २०७९ असार २९ गते ठेक्का सम्झौता भएको छ । ३६ महिनाभित्र सक्नेगरी सम्झौता भएको हो । 

सेवारखोलामा बन्ने ७० मिटर लम्बाइ भएको चार लेनको पुलका लागि २३ करोड २२ लाख ४३ हजार तीन सय रुपैयाँमा २०८० जेठ ३० गते ठेक्का सम्झौता भएको छ । 

सेवारखोलामा बन्दै गरेको पुल निर्माण शुरु भएको चार महिना नबित्दै बजेट अभावले थलिएको छ । अन्यन्त्र भने डिजाइन सम्पन्न भएर सम्झौता भएपनि काम भने अझै शुरु नभएको इन्जिनियर भण्डारीले जानकारी दिनुभयो । -नयाँ युगबोध राष्ट्रिय दैनिकमा सन्तोष खनालले खबर लेख्नुभएको छ ।

प्रकाशित मिति : २०८१ असोज १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस