दाङ, १२ असोज । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले शनिबार प्रथम वार्षिक साधारणसभा गरेको छ । साधारण सभाको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले गर्नुभएको हो ।
उहाँले साधारण सभाको उद्घाटन गर्दै साना उद्योगको प्रवद्र्धनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले युवालाई विदेश पलायनबाट रोक्नका लागि सरकारले अब पनि गम्भिरता नदेखाउने हो भने नागरिकका झन् निराशा र आक्रोश सिर्जन हुने बताउनुभयो ।
महासंघ तुलसीपुरका अध्यक्ष लाल बहादुर केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेको प्रमुख आथित्यता एवं तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव वलीको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो ।
त्यस अवसरमा नगरप्रवक्ता माधव वलीले स्थानीय सरकारले स्थानीय उत्पादनको बजारीकरणका लागि आवश्यक पहल गरिरहेको बताउनुभयो । उहाँले स्थानीय उत्पादनको बजारीकरणमा घरेलु तथा साना उद्योगी व्यवसायीले महत्वपूर्ण भूमिका खेलेको समेत बताउनुभयो । उहाँले देशमा रोजगारी सिर्जना गर्नका लागि स्थानीय उत्पादनको बजारीकरणमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा उद्योगी व्यवसायीले राज्यले उद्योगी व्यवसायीका समस्या समाधान गर्न नसकेको बताएका छन् । उनीहरुले बाह्य वस्तुको खुला आयात, बैंक बढ्दो व्याजदर, युवा जनशक्ति पलायन लगायतका कारण उद्योगी व्यवसायी समस्यामा पर्न थालेको गुनासो गरेका छन् ।
तुलसीपुर उद्योग वाणिज्य संघका सह–कोषाध्यक्ष दिपेश भण्डारी, तुलसीपुर चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष सन्तोष खड्का, अण्डा तथा दुग्ध उत्पादक किसान सासिरम बुढाथोकी, तुलसीपुर खानेपानी सरसफाई उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष यमकान्त भण्डारी, युथ अफ तुलसीपुरका अध्यक्ष अरुण लहरे लगायतले राज्यले युवा जनशक्ति पलायनबाट रोक्नका लागि उद्योग व्यवसायको प्रवद्र्धनमा सशक्त भूमिका खेल्नुपर्ने बताउनुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका बरिष्ठ उपाध्यक्ष सचिन पौडेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण महासचिव भद्र बहादुर वलीले गर्नुभएको हो ।