२०८१ मङ्सिर २३ गते आइतवार

युवा पलायनको स्थिति झन्पछि झन् भयावह बन्दै छ : मन्त्री न्यौपाने

दाङ, १२ असोज । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले लुम्बिनी प्रदेशमा कृषि र पर्यटन क्षेत्रबाट आर्थिक विकास गर्न सकिने बताउनुभयो । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको प्रथम वार्षिक साधारणसभालाई संबोधन गर्दै मन्त्री न्यौपानले युवा पलायन हुनबाट रोक्नलाई कृषि र पर्यटन क्षेत्रको विकास अनिवार्य आवश्यक रहेको बताउनुभयो ।

उहाँले स्थानीय सरकार समस्याको पहिचान गरेर प्रदेश सरकारलाई योजना दिनुपर्ने समेत बताउनुभयो । ‘युवा पलायनको स्थिति झन्पछि झन् भयावह बन्दै छ ।’ उहाँले भन्नुभयो–‘अब पनि स्वदेशमै रोजगारीको वातावरण बन्न नसक्ने हो भने झन् आक्रोश बढ्छ ।’ उहाँले पछिल्लो समय घरेलुमार्फत दिने तालिममा सहभागी हुने जनशक्ति पनि पाउन मूस्किल रहेको समेत बताउनुभयो ।

उहाँले पुरुषजति विदेश पलायन हुँदा पछिल्लो समय महिलाहरू उद्यममा जोडिन थालेको समेत बताउनुभयो । महिलाहरु आत्मनिर्भरताको बाटोतर्फ जानु पनि सकारात्मक पक्ष रहेको उहाँको भनाई छ ।

उहाँले सरकारले ठुला उद्योगलाई मात्रै उद्योग ठान्ने प्रवृत्ति रहेको बताउनुभयो । साना उद्योगको प्रवद्र्धनका लागि पनि सरकारले आवश्यक सहयोग गर्न सकिने उहाँको प्रतिवद्धता छ । उहाँले अनुदान नगद मात्रै नहुने र सरकारले मेशिनरी सामान पनि अनुदानमा उपलब्ध गराउने बताउनुभयो । उहाँले प्रदेश सरकारले उद्योगमैत्री ऐन कानुन निर्माण गरेर उद्योगी व्यवसायी टिकिरहने स्थिति सिर्जना गर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०८१ असोज १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस